दिलिपका हत्यामा संलग्नलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री राउतकाे भनाइ

 माघ ३, २०७६ शुक्रबार १६:२६:३६ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - अवैध क्रसर सञ्चालकद्वारा हत्या गरिएका दिलिप महतोको परिवारलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भेटेर हत्यामा संलग्नहरुलाई कारबाही गराउन कुनै कसर बाँकी नराख्ने बताउनुभएकाे छ ।

मुख्यमन्त्री राउतले शुक्रबार पीडित परिवारलाई भेटेर हत्यामा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कारबाही गराउन प्रदेश सरकारले आफ्नाे तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएकाे हाे । 

गएकाे पुस २४ गते अवैध क्रसर सञ्चालक विपिन महतोलगायतका व्यक्तिहरुले योजनाबद्ध रुपमा श्रीपुरका दिलिपको औरही खोलामा रहेकाे क्रसर उद्योगमै फलामे लिभरले घोचेर घाइते बनाएपछि दुर्घटना भन्ने देखाउन टिपरले किचेर हत्या गरिएकाे थियाे ।

परिवारको सहारा गुमेपछि दिलिपको परिवारको अवस्था अहिले आँसु थाम्नै नसकिने अवस्था छ । आमा अहिले बेहोसी अवस्थामै र दम रोगबाट ग्रस्त बुवा रामजीवन महतो परिवारको गुजारा कसरी गर्ने भन्ने चिन्तामा हुनुहुन्छ ।

प्रदेश सरकारले यसअघि नै पाँच लाख रुपैयाँ राहतको घोषणा गरिसकेको छ भने आरोपित भनिएका विपिन महतो लगायतका ४ जना प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरुमाथि कर्तव्य ज्यानको मुद्दा दायर गरी धनुषा प्रहरीले अनुसन्धान प्रक्रिया जारी राखेकाे छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया