धनुषामा मतदानस्थलभित्र सुरक्षाकर्मीले ढुक्कसँग माेबाइलमा गफ गरे, मतदातालाई पनि दिए

 माघ ९, २०७६ बिहिबार १४:२०:१ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ मा जारी राष्ट्रिय सभा सदस्यको मतदानस्थलमा मोबाइल फोन निषेध गरिए पनि सुरक्षामा खटिएका प्रहरीले भित्र मोबाइल लगेको पाइएको छ ।

चुनावको सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले मतदानस्थलमा मोबाइल फोन प्रवेशमा निषेध गरेको थियो । 

मतदातालाई मोबाइल फोन चेक गर्नका लागि मतदानस्थलको मुख्यद्वारमै अत्याधुनिक मेसिनसहित दर्जनाैँको संख्यामा प्रहरी खटाइए पनि प्रहरी आफैँले भने मोबाइल भित्र लगेकाे पाइएकाे हाे ।

जनकपुरधाममा रहेकाे महेन्द्रनारायण निधि सांस्कृतिक प्रतिष्ठानमा रहेकाे मतदान केन्द्रमा खुलेआम रुपमा प्रहरी निरीक्षक विजय यादव मोबाइलमा कुराकानी गरिरहेका देखिनुहुन्थ्याे ।

उहाँले केहीबेर कसैसँग मोबाइलमा कुराकानी गरेर फेरि त्यो मोबाइल नजिकै रहेकी एक महिला मतदातालाई समेत कुराकानी गर्न दिनुभएको थियो । निर्वाचन अधिकृत र मतदान अधिकृतबाहेक मतदातालाई मात्रै नभइ सुरक्षामा खटिएका प्रहरी र सञ्चारकर्मीलाई पनि मोबाइल लैजान प्रवेश निषेध गरिएको थियो ।

मतदान गोप्य हुने भएकाले गोपनीयताको लागि यस्तो गरिएको निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया