‘ट्रेकिङ गाइड’ छाडेर १५ वर्षअघि मलेसिया, फर्केर फेरि त्यही काम गर्ने धोको

 माघ २३, २०७६ बिहिबार १४:५९:२६ | उज्यालो सहकर्मी

राजु अधिकारी/नवलपरासी

हेर्दाहेर्दै, वैदेशिक रोजगारीमा गएको पनि १५ वर्ष पूरा भइसकेछ । कहिलेकाहीँ पुराना दिनको याद आउँछ, जतिबेला म पर्यटकलाई लिएर नेपालका सुदूर क्षेत्रसम्म पुग्थेँ ।

कहिले डोल्पा त कहिले सोलुखुम्बु । पर्यटक गाइड भएर १० वर्ष काम गरेपछि मैले विदेश जाने निर्णय गरेँ ।

पर्यटक गाइडको काम गरेको मान्छे किन वैदेशिक रोजगारीमा भनेर धेरैले सोध्छन् । रहर गरेर मात्रै जीवन चल्दैन, बाध्यताले मान्छेलाई डोर्याउँछ । जहाँ धेरै कमाइ हुन्छ मान्छे उतै जाने त हो नि । मेरो पनि त्यस्तै भयो ।

त्यतिबेला पर्यटक गाइड हुँदा जम्मा पाँच हजार रुपैयाँ तलब थियो । हुन त पर्यटकले टिप्स दिन्थे । १५/२० हजार रुपैयाँ जति त कमाइन्थ्यो । तर त्यो काम मौसमी रोजगारी जस्तै थियो । सधैँ काम पाइन्छ भन्ने नै थिएन । 

त्यहीबेला नेपालमा संकटकाल पनि थियो । पर्यटकलाई घुमाउन लगे माओवादीको डर भइरहन्थ्यो । त्यही भएर मैले वैदेशिक रोजगारीमा जाने निर्णय गरेँ । सन् २००५ मा म्यानपावरलाई १ लाख रुपैयाँ बुझाएर नेपाली १४ हजार रुपैयाँ तलब पाइने आशमा म मलेसिया गएँ ।

म त्यहाँको दुर्गम गाउँ, केलान्तान भन्ने ठाउँमा पुगेँ । हार्डवयर पसलमा सामान्य कामदारको रुपमा गएको थिएँ । उता गएर भनेअनुसारकै काम र तलब पाइयो । काम गर्ने वातावरण राम्रो थियो । त्यही वातावरणले मलाई मलेसियामा टिकाइराख्यो ।

अहिले म त्यही पसलमा सेल्समेनको काम गर्छु । पहिलेको जस्तो गह्रुँगो र हात मैलो हुने काम गर्नुपर्दैन । अहिले तलब पनि राम्रै छ । नेपाली ४५ हजार रुपैयाँ पुग्छ ।
२५ वर्षको उमेरमा देश छाडेको अहिले ४० वर्ष भइसक्यो । एउटै ठाउँमा लामो समयसम्म काम गरिरहँदा आफ्नो जस्तै लाग्दोरहेछ । त्यही भएर अरु देश जाने कुरा पनि सोचिएन ।

विदेशमा धेरै बसियो, अब आफ्नै देशमा केही गर्नुपर्यो भन्ने लागेको छ । घरमा आमा, श्रीमती र एकजना छोरा छ । छोरो ७ वर्षको भयो, उसलाई पनि बुवाको साथ चाहिन्छ ।

यो दशैँमा मलेसिया फर्किन्न, देशमै केही गर्छु भनेर आएको थिएँ । तर सोचेअनुसारको हुन पाएन र फेरि उतै फर्किनुपर्यो ।  तर अब धेरै बस्दिनँ होला मलेसियामा । एक दुई वर्षमै नेपाल फर्किन्छु । पहिलेकै पेसा अँगाल्ने सोच छ । 

अहिले पर्यटन विकासको लागि  सरकारले विभिन्न प्रयास गरिरहेको छ । देशमा पर्यटन प्रवद्र्धन हुँदैछ । पक्कै पनि पहिलेको जस्तो पर्यटक गाइडको काम गर्न गाह्रो छैन होला ।

पर्यटक गाइडको काम गर्नु भनेको आफ्नो देशलाई चिनाउनु हो । अहिलेसम्म अर्काको देशमा मेहनत गरियो । अब पर्यटकलाई नेपालका ठाउँको बारेमा परिचित गराउँदै यहाँका विभिन्न कला, सँस्कृति र सम्पदाको प्रचारप्रसार गर्नमा मेहनत गर्नुछ । एकपटक फेरि हिमालमा डाँफे नाचेको देखाउँदै पर्यटकलाई यही हो मेरो देश भन्न मन छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया