ध्वजावाहक विमान जापान पुग्दा खुशी भए नेपाली

 फागुन १९, २०७६ सोमबार १९:३७:५७ | रासस
unn.prixa.net

काठमाण्डौ - नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमान जापान पुग्दा नेपालीहरु हर्षित भएका छन् । 

नारिता उडानका लागि सोमबार बिहान नेपाली समयअनुसार सवा १ बजे उडान सुरु गरी जापानको समयअनुसार १०ः५० मा नारिता विमानस्थल पुग्दा नेपालीहरु खुशी देखिएका हुन् । नेपालको भन्दा जापानको समय झण्डै तीन घण्टा छिटो छ ।  
     
‘नेपाल वायु सेवा निगमको ध्वजावाहक विमान सिधै जापान आउनु राष्ट्रको गौरवको कुरा होे’, जापानको सेन्डाई शहरमा ६ वर्षदेखि बस्दै आउनुभएकी कुसुम थामीले भन्नुभयो, ‘पहिला सिङ्गापुर, कतार, अरब जाने विमानमा आएर फेरि अर्को विमान चढेर जापान आउनुपर्थ्याे, सिधै आउँदा समय छोटो र पैसा पनि कम लाग्छ ।’

निगमले नियमित उडान गरिदिए नेपाली तथा नेपालमा जाने जापानी पर्यटकका लागि सहज हुने उहाँको भनाइ थियो । ‘निगमले सस्तोमा टिकट दिनुपर्छ भन्ने लाग्दैन, टिकटमा केही पैसा बढी भए पनि देश धनी हुन्छ’, उहाँले थप्नुभयो,‘ विमान नेपालबाट सिधै जापान आउँदा नेपाल राष्ट्रको पनि सान बढेको महसुस भएको छ ।’

निगमले साताको सोमबार, बुधबार र शुक्रबारको उडान इजाजत पाएको छ । त्यहीअनुरुप सोमबार काठमाण्डाैबाट नारिता उडान भरेको हो । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा वाइडबडी ए-३३० जहाज छन् ।

त्यही जहाजबाट उडान हुनेछ । जापानको टोकियोमा एक दशकदेखि बस्दै आउनुभएका सुरेश बाँस्टाकोटीले पनि जापानमा सिधै नेपालको विमान आउँदा गौरवको अनुभूति भएको बताउनुभयो । 

‘आफ्नो देशको झण्डासहितको विमान जापान आउँदा म त खुशीले भक्कानिएँ’, उहाँले सुनाउनुभयो, ‘जापानमा बस्ने नेपाल र पर्यटक सबैका लागि असाध्यै राम्रो सुरुवात हो ।’ उहाँले पनि उडानले निरन्तरता पाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । 
    
गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष देवीलाल भण्डारीले उडान नेपाल सरकारको सराहनीय काम भएको बताउनुभयो । ‘यो वर्तमान सरकारको धेरै राम्रो कामको सुरुवात हो, यसले राष्ट्रको गौरव बढाउने काम गरेको छ’, उहाँले भन्नुभयो, ‘नारिता, टोकियो, चिवालगायत ठाउँमा नेपाली धेरै बस्छन्, उडानले सबैको मद्दत गर्छ, जुन खुशीको कुरा हो ।’ 

उहाँकाअनुसार जापानमा ९० हजार नेपाली छन् । त्यसमा ३० हजार विद्यार्थी र बाँकी व्यवसाय गर्ने व्यक्ति र कामदार छन् । निगमले गएकाे भदौ १२ गते ओसाका उडान सुरु गरे पनि नेपाली नागरिक र नेपाल आउने पर्यटकलाई ध्यानमा राखेर ओसाका उडान बन्द गरी काठमाण्डाै–नारिता उडान गर्न लागेको हो । 

निगमको पहिलो व्यावसायिक उडानमा काठमाण्डाै नारिताका लागि दुई सय २० जनाले टिकट काटेका थिए । नारिताबाट काठमाण्डाै जान दुई सय ६८ जनाले टिकट लिएका छन् । निगमका अनुसार नारिता उडानका लागि दुईतर्फी भाडादर न्यूनतम ७३ हजार रुपैयाँ कायम गरिएको छ । सुरुवातमा प्रमोशनल फेयरअन्तर्गत याे भाडादर सार्वजनिक गरिए पनि भाडादर परिर्वतन हुन सक्छ ।

निकट भविष्यमा यात्रुको मागअनुसार भाडादर कायम गरिनेछ ।  दुई सय ७४ सिट क्षमता भएको वाइडबडी जहाजबाट निगमले जापानमा ‘सेडुल’ उडान सुरु गरेको हो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया