आजदेखि चिडियाखाना बन्द

 चैत ७, २०७६ शुक्रबार ७:१८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वभर फैलिएको ‘कोभिड–१९’ को महामारीकाे सङ्क्रमण रोक्ने तयारी अनुसार ललितपुर जावलाखेलमा रहेकाे सदर चिडियाखाना शुक्रबारदेखि बन्द गरिएकाे छ । आजदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने भएका हुन् । 

चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेलले भन्नुभयो, 'कोरना भाइरस सङ्क्रमणको डरले बन्द गरिएको हो । हरेक दिन तीन हजार अवलोकनकर्ता यहाँ अवलोकनका लागि आउने गरेका थिए ।' विद्यालयमा वार्षिक परीक्षा सकिएकाे र विद्यार्थीको अवलोकनको मुख्य आकर्षण चिडियाखाना रहेकाले बन्द गरिएको उहाँले बताउनुभयो । 

अवलोकनको लागि बन्द गरे पनि जीवजनावरको लागि खटिने कर्मचारी भने यहाँ नियमित आउनेछन् । हरेक दिन चिडियाखाना बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरेको थियो । अहिले चिडयाखानासँग साथीको रूपमा सम्बन्ध स्थापित भएका दुई सय विद्यालएका पाँच हजार विद्यार्थी सहभागी हुँदै आएका छन् ।   

अहिले चिडियाखानामा एक सय १९ प्रजातिका एक हजार ९८ वटा जीवजनावर रहेको छ । जहाँ मुख्य आकर्षणको रुपमा बाघ, भालु चितुवा, रेड पाण्डा (रातो हाब्रे) जस्ता जनावर छन् । ती प्रजातिमध्ये ३३ स्थनधारी ६१ चरा आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । 

पछिल्लो समय काठमाण्डौ उपत्यकामा कम हुँदै गएको खुला स्थान र जीवजनावर हेर्ने चाहनाका कारण चिडियाखानामा आउने अवलोककर्तामा कुनै कमी आएको छैन । अवलोकनका लागि विदेशीको लागि ७५० रुपैयाँ तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका नागरिकका लागि ५०० रुपैयाँ, नेपालीलाई १५० रुपैयाँ र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकको लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

उद्धार केन्द्र अभाव   

सदर चिडियाखानामा विभिन्न जीवजन्तुलाई संरक्षण गर्न पहिलो चरणमा ल्याएर राखिने उद्धार केन्द्रको अभाव रहेको छ । जङ्गली जनावरले समय समयमा मानव बस्तीमा आएर समस्या पार्ने गरेकाले तीनलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

त्यसरी मानव बस्तीमा आएर दुःख दिने जनावरलाई पहिलो चरणमै चिडियाखानामा राखिएको अन्य जनावरसँग घुलमिल गराएर राख्न समस्या हुन्छ । तिनलाई लामो समय स्वास्थ्यपरीक्षण गर्नका लागि विशेष निगरानीमा राख्नुपर्छ तर चिडियाखानामा यस स्थानको अभाव छ ।   

'प्रत्येक वर्ष १०/१५ जीवजन्तु यहाँ संरक्षण गर्नुपर्छ, संरक्षण गरिएको जीवजन्तुलाई ६ महिनादेखि एक वर्षसम्म अवलोकन गर्नका लागि राख्न सम्भव हुँदैन, पशु डाक्टरको निगरानीमा संरक्षण गरी राख्नुपर्छ तर स्थान अभाव छ', प्रमुख व्यवस्थापक पोखरेलले भन्नुभयो । चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार उद्धार केन्द्र मात्र नभएर पछिल्लो समय जीवजन्तुको सङ्ख्या बढिरहेकाले स्थान अभाव छ ।   

त्यस्तै मनकामना मन्दिर दर्शन गर्न जाने  दर्शनार्थीहरुको सहजताका लागि  सञ्चालनमा ल्याइएकाे मनकामना  केवलकार सेवा शजिबारदेखि बन्द हुने भएको  छ । 

कोरोना भाइरसको सङ्क्रमणको सजगताका लागि सो सेवा बन्द हुने भएको हो । मनकामना दर्शन प्रालीले बिहीबार सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ ।   

चितवनको इच्छाकामना गाउँपालिका ४ मा प्रवेशद्वार (बटम स्टेशन) रहेको मनकामना केवलकारबाट दैनिक तीन हजार ५०० को सङ्ख्यामा दर्शनार्थी  मनकामना मन्दिर पुग्ने गर्दछन् ।  

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया