लकडाउनमा ट्राफिक प्रहरीको सक्रियता उपलब्धिमूलक : प्रवक्ता श्रेष्ठ

 चैत १४, २०७६ शुक्रबार १४:२:४१ | राेशन केसी

केही समयअघि काठमाण्डौको सडकमा गाडीहरुको चाप निकै हुने गर्दथ्यो। भाडाका गाडीहरु, कारहरु, मोटरसाइकल, मालवाहक गाडीहरुको लर्को मिलाउन सडकमा खटिएका ट्राफिक प्रहरीलाइ हम्मेहम्मे पर्दथ्यो ।

तर अहिले कोरोनाको जोखिम कम गर्नको लागि सरकारले गरेको लकडाउनका कारण काठमाण्डौ लगायत देशैभरका सडक खाली छन् ।

सडकमा गाडी मात्रै होइन मानिसहरु पनि कम हिंडिरहेका छन् । सडकमा गुड्ने गाडीको व्यवस्थापन गरि सडक अनुशासन कायम गर्ने ट्राफिक प्रहरी यतिबेला सडक खाली हुँदा के गर्दै होलान् भन्ने सबैलाइ लाग्न सक्छ । सडकमा गाडी र सडक प्रयोगकर्ता नभएपछि खाली बसेका होलान् ट्राफिक प्रहरी भन्ने धेरैले सोचेको पनि हुनसक्छ, तर त्यसो होइन ।

लकडाउनभन्दा अघि ट्राफिक व्यवस्थापनका लागि सडकमा ट्राफिक प्रहरीका १५ सय जनशक्ति खटिएका हुन्थे र अहिले लकडाउनको बेला सडक खाली रहँदा पनि ट्राफिक प्रहरीका १५ सय  जनशक्ति नै  खटिएको ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले ट्राफिक प्रहरीले आफ्नो चेकिङ पोस्टलाई मुख्य सडकसँगै सहायक र भित्री बाटोमा पनि बढाएको उहाँले बताउनु भयो । मुख्य सडकका चोकहरुमा पिक आवरमा खटिने ट्राफिक जनशक्तिलाई घटाएर सहायक र भित्री बाटोमा खटाएको श्रेष्ठको भनाइ छ ।

यसरी सडकमा खटिएका ट्राफिक प्रहरीले अहिले सडकमा गुडिरहेका अत्यावश्यक गाडीहरू बाहेक अरु सडकमा निस्किएका गाडी र पैदल यात्रीलाइ जाँच  गरिरहेको छ । ट्राफिक प्रहरीले जिल्ला प्रसाशन कार्यालयले पास दिएका र अत्यावश्यक कामका लागि निस्केका गाडीहरू र मानिसलाई जाँच गर्दै आवश्यकता हरेर मात्रै छोड्ने गरेको छ । त्यससँगै धेरैलाई सम्झाएर पठाइरहेको छ ।  

मास्कको प्रयोग गरेर सडकमा खटिएका ट्राफिक प्रहरीले आफ्नो सुरक्षाका लागि २ मिटरको दुरी कायम गरि काम गरिरहेका छन् भने बेलाबेलामा ब्यारेकको सरसफाइ गरिराख्ने , हात धोइराख्नुका साथै उनिहरुले सुत्ने ओछ्यानको दुरी पनि बढाएका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राेशन केसी

केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया