म्याग्दीमा क्वरेण्टीनबाट ६९ जना घर फर्किए, विपन्नलाई राहत वितरण

 चैत २५, २०७६ मंगलबार १२:३६:१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा पछिल्लो तथ्याङ्कअनुसार १५ जनालाई क्वरेण्टीनमा राखिएको छ । 

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न उच्च सतर्कतासहित ८४ जनालाई क्वरेण्टीनमा राखिएको थियो । तीमध्ये विदेशबाट फर्किएर क्वरेण्टीनमा बसेका ६९ जनालाई १४ दिन पुगेपछि डिस्चार्ज गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

विदेशबाट तथा अन्य जिल्लाबाट म्याग्दी भित्रिएकासहित अहिले धवलागिरी गाउँपालिकामा १३ र मङ्गला गाउँपालिकामा २ जना क्वरेण्टीनमा रहेको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिनुभयो । 

उहाँका अनुसार मङ्गला गाउँपालिकाको क्वरेण्टीनमा रहेका दुईजना छिमेकी जिल्ला बागलुङबाट आएका हुन् । क्वरेन्टीनमा बसेर घर फर्किएकालाई एक हप्तासम्म घरमै बस्न तथा बाहिर ननिस्कन सुझाव दिइएको छ । 

कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि भन्दै म्याग्दी जिल्लामा कुल १ सय ७३ बेड क्षमताको क्वरेण्टीन निर्माण गरिएको छ । त्यसमध्ये बेनी नगरपालिकामा ५०, रघुगङ्गा गाउँपालिकामा ५०, धवलागिरीमा ४०, अन्नपूर्णमा १५, मङ्गलामा १० र मालिकामा ८ बेड क्षमताको क्वरेण्टीन रहेको छ ।

यसैबीच जिल्लामा ‘लकडाउन’लाई थप कडा बनाइएको स्थानीय प्रशासनले जनाएको छ । छिमेकी बागलुङ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएसँगै म्याग्दीमा उच्च सतर्कता अपनाइएको हो । 

म्याग्दीमा बाहिरी जिल्लाबाट आउन रोक लगाइएको छ भने स्थानीय सरकारहरुले पनि एक ठाउँबाट अर्को ठाउँमा जान निषेध गरेका छन् । 
स्वयंसेवक र प्रहरी परिचालन गरी गाउँ गाउँमा समेत अनुगमनलाई तीव्र पारिएको छ । 

यसैबीच जिल्लाका स्थानीय सरकारहरुले ‘लकडाउन’को कारण मजदुर तथा विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण सुरु गरेका छन् । 

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाले लुलाङको लमसुङ, खोरिया र ताकमको मच्छिममा गरी हालसम्म १ सय परिवारलाई दैनिक उपभोग्य सामग्रीहरु वितरण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।

यसैगरी मालिका गाउँपालिकाले निस्कोट, रुम र देवीस्थानमा झण्डै ३४ सय परिवारलाई राहत दिने जनाएको छ । 

त्यस्तै मङ्गला गाउँपालिकाले कुहुँ, बाबियाचौर, बराङ्जा र अर्मनमा राहत बाँडिएको बताउँदै करिब ४ सय घरधुरीलाई राहत बाँड्ने भएको छ । 

त्यसैगरी, बेनी नगरपालिकाले सिङ्गा र बेनीबजारमा ज्याला मजदुरी गर्ने तथा विपन्न परिवारलाई राहत सामग्री वितरण गरिसकेको जनाएको छ । 

यस्तै, रघुगङ्गा गाउँपालिकाले राहत वितरणको काम सुरु गरिसकेको बताएको छ । 

त्यस्तै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले भने राहत सामग्री खरिद गरेर राखेको छ । अहिले वडास्तरबाट विपन्न परिवारको तथ्याङ्क सङ्कलनको काम भइरहेको हुँदा चाँडै राहत वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले बताउनुभयो । 

 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया