लकडाउनको मौकामा सडक रङरोगन र विस्तारको काम

 चैत २८, २०७६ शुक्रबार १६:२२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - देशैभरि लकडाउन भएको बेला सडकमा अत्यावश्यक बाहेक अरु गाडीहरु गुडेका छैनन् । त्यसैले अरुबेला धेरै चाप हुने सडकखण्ड विस्तारको काम सडक विभागले अब धमाधम गर्दैछ ।

सडकमा गाडी नगुडेको बेलामा विभागले यसलाई अवसरको रुपमा लिँदै सडक रेखा बनाउने काम गरिरहेको छ । लकडाउनका कारण सरकारले नागरिकलाई घरबाट निस्कन नदिएको अवस्थामा केही कामदारलाई सुरक्षित रुपमा मास्क, स्यानिटाइजर र सुरक्षित आवासको व्यवस्था गरी काम गर्न लगाएको सडक विभागका महानिर्देशक केशव शर्माले बताउनुभयो । 

उहाँका अनुसार सडक विभागले अहिले तिनकुने, एयरपोर्ट, गौशाला, थापाथली, माइतीघर, पद्मोदय मोड, धुम्बारही,बालुवाटार लगायतका विभिन्न सडक खण्डहरुमा सडक रङरोगनको काम गरिरहेको छ । 

काठमाण्डौ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड र काठमाण्डौको गौशाला–चाबहिल सडकखण्ड विस्तारको काममा भने लकडाउनका कारण कामदार नभएर असर परेको विभागले जनाएको छ । पर्याप्त कामदार खटाउन अहिलेको अवस्थाले नदिने भएकोले यसका लागि सुरक्षित रुपमा कामदार खटाउने तयारी गरिरहेको महानिर्देशक शर्माले बताउनुभयो । 

यस्तै देशका विभिन्न ठाउँमा ६० वटा पुल निर्माणको काम अन्तिम चरणमा पुगे पनि लकडाउनको असर परेको उहाँले जानकारी दिनुभयो । गिट्टी, रोडा, सिमिन्ट, डन्डी जस्ता सामान निर्माण स्थलमा भएपनि कामदारको अभाव हुदा काममा प्रभाव परेको हो ।

पानी परे, ढलान गर्ने तयारीमा रहेका पुलमा क्षतिहुने भएकाले काम अघि बढाउन लागिएको महानिर्देशक शर्माले बताउनुभयो । केही कामदारहरु लकडाउनको बेलामा निर्माण स्थलमै रहेकोले तिनै कामदारलाई खटाएर काम गर्न र गराउन सम्बन्धीत ठेकेदारसँग कुरा भइरहेको विभागले जनाएको छ ।

लकडाउनका बेला गाडी नचल्दा काममा अवरोध नहुने भएपछि काम रोकिएका काम अघि बढाउने निर्णय भएको हो । 

 


 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया