म्याग्दीमा ३३ जनाको 'र्‍यापिड टेस्ट’, सबैको रिपोर्ट ‘नेगेटिभ’

 चैत २९, २०७६ शनिबार २०:२१:५६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी –  म्याग्दीमा शनिबारदेखि कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेस्ट सुरु भएको छ ।

जिल्लास्तरीय कोभिड–१९ कमाण्ड पोस्टको बैठकले निर्णय गरी चैत महिनामा विदेशबाट फर्किएका सबै प्रवासी म्याग्देलीहरुको र्‍यापिड टेस्ट सुरु गरिएको हो । 

शनिबार पहिलो दिन बेनी नगरपालिका भित्रका ३३ जनाको र्‍यापिड टेस्ट गरिएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । 

तीमध्ये ६ जनाको स्वाब सङ्कलन गरी थप परीक्षणका लागि पोखरा पठाइएको उहाँले जानकारी दिनुभएको छ । यसअघि स्वाब परीक्षण गर्नका लागि म्याग्दीबाट पठाइएको चारै जनाको रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

गएको १ महिनादेखि विदेशबाट आएका म्याग्देलीहरुको र्‍यापिड टेस्ट सुरु गरिएको हो । शनिबारदेखि बेनी नगरपालिकाबाट र्‍यापिड टेस्ट सुरु गरिएको छ भने त्यसपछि क्रमशः सबै गाउँपालिकाहरुमा र्‍यापिड टेस्ट गरिने भएको छ । 

स्वास्थ्य कार्यालय प्रमुख लम्सालका अनुसार आइतबार मालिका र धवलागिरी गाउँपालिकाको दरबाङमा र्‍यापिड टेस्ट गरिनेछ । यसैगरी वैशाख १ गते मङ्गला गाउँपालिकाको बाबियाचौर, २ गते अन्नपूर्णको पोखरेबगर र ३ गते रघुगङ्गा गाउँपालिकाको मौवाफाँटमा र्‍यापिड टेस्ट गरिने कार्यक्रम तय गरिएको छ । 

जिल्लामा विदेशबाट फर्किएका र क्वरेण्टीनमा बसेका झण्डै एक सय जनाको र्‍यापिड टेस्ट हुने भएको छ । चैत महिनामा विदेशबाट आएकामध्ये म्याग्दीको बेनी नगरपालिकामा ३६, रघुगङ्गा गाउँपालिकामा ३४, अन्नपूर्णमा १५, धवलागिरीमा १५ र मालिकामा ११ जना रहेको तथ्याङ्क छ । 

र्‍यापिड टेस्टका लागि गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयबाट म्याग्दी जिल्लालाई दुई सय २० थान टेस्टकिट प्राप्त भएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

 सम्बन्धित समाचार

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया