मनाङमा यार्सा टिप्न रोक : राजश्व प्रभावित

 बैशाख ८, २०७७ सोमबार १३:५७:३२ | रासस
unn.prixa.net

मनाङ - कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको लकडाउनका कारण यार्सागुम्बा टिप्नमा रोक लगाइएको छ । 

यार्सागुम्बा टिप्ने मौसम सुरु भए पनि लकडाउनका कारण यस वर्ष जिल्ला प्रशासन कार्यालय मनाङले यार्सागुम्बा टिप्न रोक लगाएको हो । 

सङ्घीय सांसद पोल्देन छोपाङ गुरुङको अध्यक्षमा जिल्लाका चार वटै गाउँपालिकाका प्रमुखको सहभागितामा बसेको बैठकले यार्सागुम्बा टिप्न जाने बाटो नखोल्ने निर्णय गरेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिनुभयो ।  

महङ्गो र लोपोन्मूख बहु-उपयोगी हिमाली औषधिय जडीबुटी यार्सागुम्बा टिप्ने मौसम भए पनि देश नै लकडाउनको अवस्थामा रहेकाले त्यसलाई टिप्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । 

सरकारले शारीरिक दूरी कायम गरेर बस्न र जमघट हुने गरी समूहमा नबस्न निर्देश गरेअनुरुप यार्सागुम्बा टिप्न रोक लगाएको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो । 

‘यार्सागुम्बा टिप्न जाँदा धेरै भिडभाड हुने र जिल्ला बाहिरबाट समेत यार्सा टिप्नका लागि मानिस यहाँ आउने भएकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने हुँदा निषेध गरेका हौँ’, उहाँले भन्नुभयो । 

सरकारको अर्को सूचना नआउँदासम्मका लागि यार्सा टिप्न रोक लगाएको छ ।

यार्सा टिप्न मनाङलगायत गोरखा, लमजुङ, रुकुम, रोल्पा, डोल्पा र धादिङ जिल्लाबाट धेरै मानिस यहाँ आउने भएकाले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर रोक लगाएको अध्यक्ष  घलेको भनाइ छ । 

जिल्लाकै राजश्व सङ्कलनमा उल्लेखनीय टेवा पुर्याउने यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि आयस्रोतसमेत घाटा हुने देखिएको संरक्षण व्यवस्थापन समिति नासो गाउँपालिकाका अध्यक्ष यादव घलेले बताउनुभयो । गएको वर्ष स्थानीयलाई १० देखि १५ हजार रुपैयाँ पुर्जी काटेर यार्सा टिप्न अनुमति दिइएको भए पनि यस वर्ष टिप्नै नपाइने भएको उहाँले बताउनुभयो ।

वैशाख दोस्रो हप्तादेखि जेठसम्म मौसमका रुपमा मानिने र अनुमति लिएर यार्सागुम्बा टिप्न जाने गरेको नासो गाउँपालिका–२ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो । 

जिल्लामा यार्सा टिप्नका लागि अनुमति दिँदा स्थानीयवासीलगायत बाहिरबाट आउने मानिसमा कोभिड-१९ को सङ्क्रमण हुन सक्ने र मनाङमा फैलिन सक्ने जोखिम न्यूनीकरणका लागि यार्सा टिप्न निषेध गरिएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताउनुभयो । 

मनाङको मुख्य आयस्रोतका रुपमा रहेको यार्सागुम्बा टिप्न अनुमति लिएर मात्रै जाने गरेको भए पनि यस वर्ष रोक लगाइएको अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख बाबुलाल तिरुवाले बताउनुभयो । 

तालाडाँडा, लार्केपास, चीनको बोर्डरमा पर्ने नार्पाभूमि र थोराङ्ला भञ्ज्याङ यार्सा गुम्बा टिप्न जाने नाका हुन् । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया