मलेसियामा ७० प्रतिशत कोरोना सङ्क्रमित निको भए, नआत्तिन राजदूत पाण्डेको आग्रह

 बैशाख १९, २०७७ शुक्रबार १७:३२:४५ | सन्जिता देवकोटा

काठमाण्डौ – मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियामा कार्यरत श्रमिकलाई नआत्तिन आग्रह गर्नुभएको छ ।

मलेसियामा कोरोना सङ्क्रमितमध्ये झण्डै ७० प्रतिशतभन्दा धेरै निको भइसकेको र अहिलेसम्म सङ्क्रमित नेपालीको सङ्ख्या पनि तीन जना मात्रै भएकाले कोरोनाकै नआत्तिन र सुरक्षित भएर बस्न उहाँले आग्रह गर्नुभएको हो । 

कोरोना सङ्क्रमित तीन नेपालीमध्ये दुई जना पूर्ण रुपमा निको भएर काममा फर्किसकेका छन् भने अर्का एक जनाको अवस्था पनि सामान्य छ ।  

‘सङ्क्रमण भइहाल्यो भने पनि मलेसियन सरकारले नै उपचार गर्छ, कोरोना सङ्क्रमित गैरकानुनी भए पनि उपचार गर्न छाडेर पक्राउ गर्ने भन्ने हुँदैन,’ राजदूत पाण्डेले भन्नुभयो, ‘नेपाली श्रमिकले सुरक्षा सतर्कता अपनाए डराउनु पर्दैन ।’

मलेसियामा अहिलेसम्म ६ हजार ७१ जनामा कोरारोना सङ्क्रमण देखिएको छ । यसमध्ये ४२ सय १० जना उपचारपछि निको भएका छन् भने १७ सय ५८ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा कोरोना सङ्क्रमणका कारण १०३ जनाको ज्यान गएको छ ।

मलोसियाले कोरोना सङ्क्रमण रोकथामका लागि मे १२ सम्म लकडाउन गरेको छ । मे ४ देखि लकडाउन केही खुकुलो बनाउने मलेसियाको योजना रहेको राजदूत पाण्डेले बताउनुभयो । 

रोजगारी केही गुम्न सक्छ

मलेसिया नेपालको मुख्य श्रम गन्तव्य हो । मलेसियामा झण्डै पाँच लाख नेपाली श्रमिक रहेको सरकारी अनुमान छ । मलेसियाबाट पनि अहिले धेरै श्रमिकले स्वदेश फर्कने चाहना राखेका छन् ।

सुरक्षागार्डको रुपमा कार्यरत श्रमिकले आफूहरु जोखिममा रहेको गुनासो गरिरहेका छन् । राजदूत पाण्डेका अनुसार ठूला कम्पनीमा नेपाली श्रमिकले लकडाउन खुलेपछि फेरि काम सुरु गर्न सक्ने अवस्था रहे पनि साना कम्पनीमा कार्यरत नेपाली श्रमिकको भने रोजगारी गुम्न सक्ने अवस्था छ । 

राजदूत पाण्डे भन्नुहुन्छ, ‘अहिले नै यसै भन्न सकिने अवस्था छैन, केही गुनासाहरु दूतावासमा पनि आउने गरेका छन्, कोरोनाको कारण केहीको रोजगारी गुम्न सक्छ ।’

विभिन्न माध्यममार्फत गुनासो टिपाउन सकिने

श्रमिकको गुनासो सुन्न दूतावासले फोन, इमेल र सामाजिक सञ्जालको प्रयोग गरेको छ । फोन उठेन भने दूतावासको इमेल [email protected] बाट पनि सम्पर्क गर्न सकिनेछ ।

इमेल पठाउँदा विस्तृत विवरण लेखेर पठाउन पनि दूतावासले आग्रह गरेको छ । नाम पासपोर्ट नम्बर, फोन नम्बर र आफू कार्यरत कम्पनीको नाम अनिवार्य राख्नुपर्ने हुन्छ । 

मलेसियामा अहिले आवागमन नियन्त्रण आदेश (एमसीओ) लागू भएको अवस्था छ । त्यही कुरालाई मध्यनजर गर्दै दूतावास बिहानको १० बजेदेखि १ बजेसम्म मात्र सञ्चालन हुन्छ । त्यो समयमा दूतावासको ल्याण्डलाइन नम्बरमा फोन गरेर आफ्ना समस्या राख्न सकिने दूतावासले जनाएको छ । 

ल्याण्डलाइन नम्बर ०३२०२०१८९९ र ०३२०२०१८९८ यस्तै ०१६२४७२७७७ हटलाइन नम्बरमा सम्पर्क गर्न सकिन्छ । कहिलेकाहीँ फोन नउठ्दा नआत्तिन दूतावासले आग्रह गरेको छ । 

एमसीओ कोभिड १९ रोकथामको लागि लागू गरेको भएकाले दूतावासले मलेसियामा रहेका नेपालीलाई आफू रहेकै ठाउँमा सुरक्षित भएर बस्न आग्रह गरेको छ ।

लकडाउन उल्लङ्घन नगरौं

दूतावासले लकडाउनका बेला एमसीओ उल्लङ्घन नगर्न आग्रह गरेको छ । लकडाउन उल्लङ्घन गरेको आरोपमा धेरै नेपाली श्रमिकहरुलाई त्यहाँको प्रहरीले समातेको छ । यो कानुनी कुरा भएकाले यही नै सजाय हुन्छ भनेर भन्न नसकिए पनि ६ महिना जेल र एक हजार रिंगिट जरिवाना सजाय रहेको दूतावासले जनाएको छ । 

त्यही भएर यस्तो बेला टोली बनाएर बाहिर ननिस्किन र सानै कामको लागि बाहिर निस्के पनि आफूसँग भएका प्रमाण पासपोर्ट भिसा बोक्न तथा होस्टेलमा बस्नेहरुले पनि अनावश्यक पार्टी गरेर होहल्ला नगर्न दूतावासले आग्रह गरेको छ ।

एमसीओ लागू भएका कारणले अहिले पासपोर्ट बनाउने काम बन्द भएको पनि दूतावासले जनाएको छ । तर एमसीओ लागू भएको मिति अर्थात १८ मार्च भन्दा पहिले पासपोर्ट बनाउन दिएकाहरुलाई पासपोर्ट आयो आएन भनेर बुझ्नको लागि दूतावासको नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

पासपोर्ट, भिसा र उडानका सम्बन्धमा

पासपोर्ट हराएको, म्याद सकिएको भन्ने गुनासाहरु पनि बढिरहेको भन्दै दूतावासले त्यस्ता समस्या भएकाहरुले एमसीओ खुलेपछि अथवा अवस्था सामान्य भएपछि दूतावासमा गएर पासपोर्ट बनाउन सकिने जनाएको छ ।

पासपोर्टको म्याद सकिन एक वर्ष बाँकी छँदै नवीकरण गर्न सकिने पनि दूतावासले जनाएको छ । त्यही भएर पासपोर्टको म्याद सकिने समयमा आएर हतार गर्नुभन्दा पहिले नै सचेत रहन दूतावासले आग्रह गरेको छ  ।

नेपाल सरकारले सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरु १५ मेसम्म बन्द गरेको छ । यस्तै बिदामा नेपाल आएका तर लकडाउनका कारण फर्किन नपाएकाहरुले पनि अन्तर्राष्ट्रिय  उडान नखुल्दासम्म मलेसिया फर्किन सम्भव नभएको दूतावासले जनाएको छ ।

मलेसियाको सरकारले लकडाउन पछि भिसाको अवधि सकिएकाहरु गैर कानुनी नठहरिने भनेर निर्णय गरिसकेको छ । तर भिसा सकिएकाहरुले के गर्ने भनेर मलेसिया सरकारले नेपाली दूतावासलाई कुनै जानकारी गराएको छैन । 

लकडाउन हुनुभन्दा अगाडि भिसाको अवधि सकिएकाहरुलाई आफू प्रहरीबाट जोगिएर र सुरक्षित भएर बस्न दूतावासले आग्रह गरेको छ ।

मलेसियामा श्रमिकहरुको न्यूनतम पारिश्रमिक फेब्रुअरी १ देखि १२ सय लागू हुने भनेको थियो । तर अहिले असामान्य परिस्थिति भएको र यो अवस्थापछि मलेसिया सरकारले के निर्णय गर्छ भनेर अहिले भन्न नसकिने दूतावासले जनाएको छ ।

नेपाल पैसा पठाउँदा ठगिएको भन्ने गुनासा आएकोले व्यक्तिगत रुपमा पैसा नपठाइ आधिकारिक बैंकिङ च्यानलबाट मात्र पैसा पठाउन दूतावासले आग्रह गरेको छ। कोरोना शंकाका कारण केहीलाई क्वारेण्टीनमा राखे पनि पुष्टि भने नभएको दूतावासको भनाइ छ । 

 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया