उद्योगीले मजदूरलाई भोकै हुन नदिने : मजदूर नेता भन्छन्- व्यवहारमै देख्न पाइयोस्

 बैशाख २०, २०७७ शनिबार ७:२७:७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले लकडाउनका बेला घरमै बसेका श्रमिकलाई आधा महिना बराबरको भए पनि तलब उपलब्ध गराउन सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरुलाई आग्रह गरेका छन् ।

लकडाउनका कारण उद्योगी र श्रमिक दुवै समस्यामा परेको हुनाले तत्कालका लागि श्रमिकलाई खानेकुराको प्रबन्ध गर्न पेश्की स्वरुप तलब उपलब्ध गराउन ती संस्थाले आग्रह गरेका हुन् ।

ती संस्थाले लकडाउनका बेला तलब नदिने उद्योग प्रतिष्ठानको तथ्याङ्क ल्याउन ट्रेड युनियनहरुलाई आग्रह गरेका छन् । . आधा तलब नदिएका उद्योग प्रतिष्ठानको बारेमा जानकारी ल्याए  तलब उपलब्ध गारउन आफूहरुले सहजिकरण गर्ने दुवै सस्थाका अध्यक्षहरुले प्रतिबद्धता जनाएका छन् ।

मजदूर दिवसको अवसर पारेर संवाद समूह मोरङले आयोजना गरेको ट्रेड युनियन र उद्योगी व्यवसायीबीचको भर्चुअल सम्वादमा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले कोरोना संकटमा औद्योगिक कोरिडोरका एक जना पनि श्रमिक र तिनका परिवारलाई भोकै बस्न नदिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले उद्योगी व्यवसायी आफू मात्र पैसा कमाउनु पर्छ भन्ने अवस्थामा नभएको बताउनुभयो ।  ‘मजदूर बाँचे मात्रै उद्योग बाँच्छन् उहाँले भन्नुभयो, ‘मजदूर बचाउन अहिले तत्काल आधा भए पनि तलब दिएर जानु पर्छ, अरु कुरा सहज भएपछि उद्योगी र ट्रेड युनियन मिलेर सहमति खोजिनु पर्छ । अहिले भनेको भोकबाट बचाउने हो ।’

मोरङ व्यपार संघका अध्यक्ष प्रकाश मुन्दडाले मजदुरहरुको सहयोगबाट उद्योगीहरु मजबुत हुन सक्ने बताउनुभयो ।  उहाँले आउने दिनमा बजार टाट पल्टिने अवस्थामा पुगेकाले  सबै उद्योगी व्यपारी डर र त्रासमा रहेको जानकारी दिँदै  उद्योगी र श्रमिक मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले सुनसरी मोरङका उद्योगी र श्रमिकबीचको सम्बन्ध अन्त्यन्तै राम्रो भएको र यसलाई कायम राख्ने भन्दै गाँस र बासको प्रबन्ध गरिने बताउनुभयो ।

अप्ठेरोमा पनि पेश्की र ज्याला दिइएन

ट्रेड युनियन कांग्रेसका केन्द्रीय सचिब ज्योति कोइरालाले उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई स्थानीय तहले राहत नदिएको बताउनुभयो ।  उहाँले धेरै जसो उद्योगले अहिले पनि पेश्की र ज्याला समेत नदिएको भन्दै मजदूर भोकभोकै मर्ने अवस्थामा पुगेको सुनाउनुभयो ।  

उहाँले लकडाउनको बेलामा रोजगारीमा जान सक्ने अवस्था नरहेकोले श्रमिकको सहयोगी बन्न रोजगारदातालाई आग्रह गर्नुभयो ।

ट्रेड युनियन महासंघ जिफन्टका प्रदेश संयोजक किशोर धमलाले उद्योग संगठन र मोरङ व्यपार संघले अहिलेसम्म श्रमिकका विषयमा आफूहरुसँग सल्लाह र छलफल नगरेको आरोप लगाउनुभयो । ‘हामीले आधा महिनाको तलब लिने विषयमा सहमति जनाएका छैनौँ’, उहाँले भन्नुभयो, ‘उद्योगीहरुले तत्काल श्रमिकलाई राहतको व्यवस्था गर्नुपर्छ ।’

अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष टिकाराम प्रसाईले उद्योगी र ट्रेड युनियन बीचको छलफल र सम्वादबाट समस्या समाधान गर्नुपर्ने बताउनुभयो । अहिले मजदूरलाई कसरी बचाउने भन्ने समस्या भएकोले यसतर्फ उद्योगीहरुले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

सम्वादमा बोल्दै मजदूर नेता निलम ढुङ्गेलले संगठित क्षेत्रका श्रमिकलाई उपेक्षा गरिएको बताउनुभयो ।  कतिपय श्रमिकसँग आवश्यक कागज समेत नभएका कारण पनि राहत लिनबाट बञ्चित भएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया