विराटनगरका मुस्लिम अगुवाले भने - शुक्रिया ! चिकित्सक टोली, शुक्रिया !

 बैशाख २६, २०७७ शुक्रबार १३:४८:१९ | सुमन तिमल्सिना
unn.prixa.net

विराटनगर - विराटनगरमा रहेको कोरोना विशेष अस्पताल (कोभिड–१९ उपचार केन्द्र) अगाडि शुक्रबार केही विशेष व्यक्तिको उपस्थिति थियो । केन्द्रमा उपचारपछि कोरोना सङ्क्रमणबाट निको भएका ८ जनालाई डिस्चार्ज गर्ने तयारी भइरहँदा अस्पतालबाहिर १० जना मुस्लिम अगुवाहरु सफल उपचार गरिएकोमा खुसी देखिन्थे ।

उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिन मुस्लिम अगुवाहरुले लाइनमा बसेर ‘शुक्रिया’ लेखिएका कागजहरु हातमा बोकेका थिए ।विराटनगरका मुस्लिम अगुवा ईमाम हैदरले  कोरोना बिरामीलाई सङ्क्रमणलाई मुक्त गराउन सरकारले गरेको राम्रो काम गरेको र स्वास्थ्यकर्मीहरुको हौसला बढाउन आफूहरु आएको बताउनुभयो । 

उनीहरुले हातमा बोकेका कागजमा लेखिएको थियो, ‘शुक्रिया ! शुक्रिया ! चिकित्सक टोली, शुक्रिया !, धन्यवाद सरकार र जिल्ला प्रशासन कार्यालय, शुक्रिया ! शुक्रिया ! सुरक्षाकर्मी, शुक्रिया !, शुक्रिया ! डाक्टर संगीता मिश्र, शुक्रिया !, शुक्रिया ! सामाजिक विकास मन्त्री जीवन घिमिरे, शुक्रिया ।’

विश्वमा कोरोना महामारीको कारण ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान गइरहेको वेला प्रदेश सरकार र यहाँका स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमितहरुलाई स्वस्थ्य बनाउन महत्वपूर्ण भूमिका खेलेकाले सार्वजनिक रुपमा हार्दिक धन्यवाद दिइएको हैदरले भन्नुभयो ।

कोभिड उपचार केन्द्रमा उपचार गराउँदै आएकामध्ये ६ जना कोरोना सङ्क्रमित निको भएर दुई दिनअघि डिस्जार्च भएका थिए । यस्तै शुक्रबार ८ जना निको भएर घर फर्किएका छन्  । 

उदयपुरका ५, विराटनगर महानगरपालिका वडा नम्बर १७ रानीका २ र भारतीय नागरिक एक जनासहित ८ जना डिस्चार्ज भएको कोशी अस्पतालकी प्रमुख डा. संगीता मिश्राले जानकारी दिनुभयो । आज डिस्जार्च भएकोमध्ये ३ जनालाई रानीको मर्कजमा पठाइएको छ भने ५ जनालाई उदयपुर पठाइने डा. मिश्राले बताउनुभयो ।

कोरोना विशेष अस्पतालमा रहेका ३१ जनामध्ये अहिलेसम्म १४ जना डिस्चार्ज भएका छन् । अहिले १७ जनाको उपचार भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया