प्रदेश २ मा सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय २३ पुग्यो, सोमबार १ सय ७४ जना थपिए

 जेठ २६, २०७७ सोमबार २०:५०:५८ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय ७४ जना सङ्क्रमित थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय २३ पुगेको छ ।

समाजिक विकास मन्त्रालयद्वारा प्रसारित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले पछिल्लो २४ घण्टामा सप्तरीमा १६, महोत्तरीमा १२, सर्लाहीमा १ सय २०, रौतहटमा ११, बारामा ७ र पर्सामा ८ जना गरी कुल १ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

सचिव घिमिरेकाअनुसार सप्तरीको बलान बिहुल गाउँपालिकाको क्वरेण्टीनमा महिला र पुरुष गरी १६ जना, महोत्तरीको औरही नगरपालिकामा ९, जलेश्वर नगरपालिकामा ३ जना गरी १२ जनामा कोरोना देखिएको हो । 

यस्तै सर्लाहीको विष्णपुर गाउँपालिकामा ३५, ब्रम्हपुरी गाउँपालिकामा ३८, चक्रघटा गाउँपालिकामा १५, बलरा नगरपालिकामा ८ र रामनगर गाउँपालिकामा एक जना गरी कुल १ सय २० जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी रौतहटको इशनाथ नगरापालिका क्वरेण्टीनमा ४, परवा नरपालिकामा ५, गौरको आइसोलेसन कक्षमा एक जना गरी कुल ११ जनामा कोरोना पुष्टि भएको छ । बाराको सुवर्ण गाउँपालिकामा ६, पचरैता नगरपालिकामा १ जना गरी ७ र पर्साको जगरनाथपुर गाउँपालिकाको क्वरेण्टीनमा ६ जनामा कोरोना पुष्टि भएकोसमेत जानकारी उहाँले दिनुभयो ।

एक हजार ३ सय ८३ बेड क्षमतासहितको आइसोलेसन कक्षमा अहिले ७ सय ६५ जना कोरोना सङ्क्रमित उपचाररत छन् । जसअन्तर्गत सप्तरीमा ७५, सिरहामा ४८, धनुषामा ९४, महोत्तरीमा ७५, सर्लाहीमा १ सय ५१, रौतहटमा २ सय ४२, बारामा २४ र पर्सामा ३९ जनाको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रदेशमा अहिलेसम्म २६ हजार ३ सय १२ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएकोमा १ हजार ३ सय २३ जनाको रिपोर्ट पोजेटिभ र १२ हजार ६ सय ८ जनाको नेगेटिभ आएको छ भने १२ हजार ३ सय ८० जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेशको सप्तरीमा ९२, सिरहामा ४९, धनुषामा १ सय १, महोत्तरीमा एक सय ४, सर्लाहीमा ३ सय ७०, रौतहटमा ४ सय ८, बारामा ७७ र पर्सामा १ सय २२ जनामा हालसम्म कोरोना पुष्टि भइसकेको जानकारी दिँदै सचिव घिमिरेले उपचारपश्चात निको भई २ सय २६ जना डिस्चार्ज भएर घर फर्किसकेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया