कुवेतमा आममाफीमा सहभागी ३ सय नेपाली महिला बुधबार स्वदेश फर्कने

 जेठ २७, २०७७ मंगलबार १८:१२:३६ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – कुवेतबाट बुधबार आममाफीमा सहभागी ३ सय महिला स्वदेश फर्कने निश्चित भएको छ । बुधबार दुई वटा जहाजमार्फत कुवेत सरकारले नै आममाफीमा सहभागी भएका महिलालाई नेपाल पठाइदिने भएको हो ।

फर्कने तीन सय जनाको सूची कोभिड १९ क्राइसिस म्यानेजमेण्ट कमिटी (सीसीएमसी)ले तय गरिसकेको छ । आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९९१ जनाको सूची दूतावासले परराष्ट्रलाई बुझाएको र उनीहरुमध्ये ३ सय जनालाई दुई वटा उडानमार्फत कुवेत सरकारले नेपालसम्म पुर्‍याइदिने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

‘यहाँबाट लैजान समस्या छैन, नेपालमा कतिवटा जहाज ल्याण्ड गर्न दिनुहुन्छ भन्ने उताको कुरा भयो’ राजदूत भण्डारीले भन्नुभयो, ‘यहाँबाट पठाउन हामी तयार छौं, कतिबजे र कतिजना लिएर जहाज जाने भन्ने जानकारी चाहिँ नेपालबाट आएको छैन ।’

कुवेतबाट जजिरा एअरवेजले नेपालीहरुलाई लिएर आउने छ । तर समय भने टुङ्गो लाग्न बाँकी छ । कुवेत सरकारले भिसाको अवधि सकिएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा कागजातबिहीन भएका विदेशी नागरिकलाई आममाफीमा सहभागी गराएर आफ्नै जहाजमार्फत स्वदेश फर्काइदिइरहेकाे छ । आममाफीमा नेपालीसहित अरु देशका नागरिक पनि सहभागी भएका छन्  । उनीहरुलाई कुवेतले यसअघि नै स्वदेश फर्काएकाे छ ।

नेपाल सरकारको मापदण्डअनुसार कुवेतले नेपाल फर्कनेहरुको कोरोना जाँच पनि आफैंले गरिदिने छ । गएको अप्रिल २६ देखि ३० सम्म कुवेतले दिएको चार दिनको आममाफीको समयमा झण्डै तीन हजार नेपाली सहभागी भएका छन् ।

उनीहरु कुवेत सरकारले नै निर्माण गरेको सेल्टरमा बसिरहेका छन् । कुवेतले नै खाद्यान्न लगायतको व्यवस्था गरिरहेको छ । नेपालले अनुमति दिएमा कुवेत यसअघि नै पनि आममाफीमा सहभागीलाई ल्याइदिन तयार थियो ।

यस्तै अस्ट्रेलियामा समस्यमा परेका ११ नेपाली पनि बुधबार नै नेपाल फर्कने भएका छन् । यूएईबाट भने आउने, नआउने टुंगो लागिसकेको छैन ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया