स्तरोन्नति सकिएसँगै दिपायल विमानस्थलमा सेनाको परीक्षण उडान

 जेठ २७, २०७७ मंगलबार २०:३४:३ | विमल बिष्ट
unn.prixa.net

डोटी – कालोपत्रलगायत स्तरोन्नतिको काम सकिएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलो पटक परीक्षण उडान गरेको छ ।

नेपाली सेनाका महासेनानी तथा पाइलोट सुवर्ण विष्टको टोलीले मङ्गलबार पहिलो पटक विमानस्थलमा आफ्नो स्काई ट्रकबाट परीक्षण उडान गरेको श्री नं ५ बाहिनी अड्डा दिपायल राजपुर ब्यारेकले जनाएको छ । 

सेनाको जहाजले विमानस्थलको पूर्वी तथा पश्चिमी मोहडाबाट दुई पटक परीक्षण उडान गरेको रुद्रध्वज गणका गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो जहाजले हावाको मापन गर्न एअरपोर्टको दुईतिरकै ठाउँबाट परीक्षण उडान गरेको छ, दुवै मोहडाबाट जहाज सहज तरीकाले अवतरण गर्न सफल भएको छ ।’ 

दिपायल विमानस्थल नेपालका अन्य विमानस्थलभन्दा राम्रो वातावरणको भएको र यहाँ जुनसुकै समयमा पनि जहाज उडान तथा अवतरण गर्न सहज हुने परीक्षण उडान भर्ने नेपाली सेनाका चालक दलका सदस्यहरुले बताएका छन् । 

स्तरोन्नति कार्य सम्पन्न भएको र सेनाको जहाजले विमानस्थलमा परीक्षण उडान गरेपछि दिपायलमा जहाज चल्ने आशामा स्थानीयहरु निकै खुसी भएको दिपायल सिलगढी नगरपालिका ४ का स्थानीय महेन्द्रबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एअरपोर्टको स्तरोन्नतिको कार्य सकिएर सेनाले परीक्षण उडानसमेत गरिसकेको छ, अब जहाज चल्छ कि भन्नेमा आशावादी भएका छौँ ।’ 

लामो समयदेखि यात्रु अभावको कारण देखाउँदै बन्द अवस्थामा रहेको विमानस्थलको डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा सङ्घीय सांसद प्रेमबहादुर आलेमगरको पहलमा स्तरोन्नति तथा कालोपत्रको काम गरिएको हो । 

झण्डै साढे पाँच करोड रुपैयाँको लागनीमा कालोपत्र तथा स्तरोन्नतिको काम सप्नाग्याल्भा तथा जेभी कन्ट्रकसनले सम्पन्न गरेको दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले बताउनुभयो ।

विमानस्थलको सम्पूर्ण काम सम्पन्न भइसकेको अवस्थामा नियमित रुपमा जहाज सञ्चालन गर्न स्थानीयबासीको माग छ । गएको वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं २०७४ सालमा कालोपत्रसहितको निर्माण कार्य सुरु गरिएको थियो । 

दिपायल विमानस्थलमा नियमित जहाज सञ्चालन गर्न सके यहाँका प्रमुख पर्यटकीय स्थल खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा, घटालथान, बडीकेदार, वैद्यनाथ धामलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटकहरु भित्र्याउन निकै सहज हुने डोटीका पर्यटन व्यवसायी तथा उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेका ठाउँहरु हुन्, विमानस्थलमा नियमित जहाज चलाउन सके, पर्यटक मात्रै भित्र्याउन सके यहाँको पर्यटन क्षेत्रमा निकै राम्रो आम्दानी हुने छ ।’ 

त्यस्तै सेनाको टोलीले सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरुमा बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर र बझाङको चैनपुर विमानस्थलमा समेत आजै हवाइ निरीक्षण गरेको छ । सुर्खेतबाट आएको नेपाली सेनाको जहाजले ती सबै विमानस्थलको हवाइ निरीक्षण गरेको हो । पछिल्लो समय यहाँका पाटन, चैनपुर र दिपायल विमानस्थल कालोपत्र भएर परीक्षण उडानको लागि तयारी अवस्थामा रहेका छन् । 

उता दार्चुलाको गोकुलेश्वर बिमानस्थल भने कालोपत्र नभएको कारण बन्द अवस्थामा रहेको छ । सुदूरपश्चिम प्रदेशमा अहिले गेटा विमानस्थल मात्रै सञ्चालनमा रहेको छ । नेपाली सेनाको जहाजले सुदूरपश्चिमको दिपायलबाहेकका अन्य बन्द रहेका विमानस्थलमा हवाइ परीक्षण गरेको बताइएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया