कुवेतबाट आइपुगे तीन सय नेपाली महिला, यस्तो छ अर्को उडान तालिका

 जेठ २९, २०७७ बिहिबार १४:४७:५१ | सन्जिता देवकोटा

काठमाण्डौ – कुवेतमा आममाफीमा सहभागी भएका तीन सय जना महिला काठमाण्डौमा आइपुगेका छन् । कुवेतले आफ्नै जहाज जजिरा एअरलाइन्समार्फत त्यहाँ आममाफीमा सहभागी नेपालीलाई नेपाल ल्याइदिएको हो ।

आज बिहीबार कोरोनाको कारण लकडाउन भएपछि पहिलो पटक कुवेतबाट नेपालीहरु घर स्वदेश फर्किएका हुन् । पहिलो उडानमार्फत १५० र दोस्रो उडानबाट १५० जना गरी जम्मा तीन सय आममाफीमा सहभागी महिलालाई स्वदेश पठाइएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने एउटा जहाजमा १५० र अर्को जहाजमा १४९ गरि २९९ जना नेपाली फर्किएका जनाएको छ ।

कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका  र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो । 

कुवेतले गएको अप्रिल महिनाभरी नै यी दुई तरिकाले आममाफीमा सहभागी गराएको थियो । नेपालीलाई भने अप्रिल २६ देखि ३० सम्मको चार दिनको समय दिएको थियो । यो चार दिनमा आममाफीमा सहभागी झण्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याइदिने छ ।

कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेको थियो । खाद्यान्न सहित आवश्यक कुराको व्यवस्था पनि कुवेत सरकारले नै गरेको छ ।  आममाफीमा सहभागी र केही घरफिर्ती केन्द्रमा रहेका २९९१ जनाको सूची दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

नेपालले अनुमति दिएको भए कुवेतले आममाफीमा सहभागी नेपालीलाई ल्याइदिन यसअघि पनि तयार थियो । यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ । 

घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ ।

तर अहिले फर्कने कतिपय गर्भवतीहरु पनि छन् । होल्डिङ सेन्टरको स्वास्थ्य यूनिटले तत्कालै यात्रा गर्न नसक्ने भन्ने यकिन गरेमा उनीहरुलाई काठमाण्डौकै आपतकालीन क्वरेण्टीनमा राखिने छ । आपतकालीन अवस्थाका लागि भनेर सरकारले काठमाण्डौमा पनि क्वरेण्टीनको व्यवस्था गरेको छ ।

तर त्यसका लागि यात्रा गर्न नसक्ने कुरा स्वास्थ्य यूनिटले प्रमाणित गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सम्बन्धित पालिकामा पनि विदेशबाट घर फर्कनेले १४ दिन क्वरेण्टीनमा बस्न पर्नेछ । त्यसपछि मात्रै आफ्नो घर जान पाइनेछ । कुवेतबाट प्राथमिकतामा परेका नेपालीलाई ल्याउनका लागि अर्को उडान असार २ गते, ५ गते, ७ गते र १० गते हुने तय भएको छ ।

यसअघि अवैधानिक भएका नेपालीलाई घर पठाउँदा फेरि फर्कन नपाइने नियम हुन्थ्यो । तर अहिले कुवेतले नै आह्वान गरेको आममाफीमा सहभागी भएर फर्कने नेपाली फेरि कामका लागि कुवेत जान पाउनेछन् ।

यसअघि यूएईबाट १६८ र म्यानमारबाट पनि नेपाली स्वदेश फर्किसकेका छन् ।

यस्तो छ, खाडीका देश र मलेसियाको अन्य उडान तालिका :

असार २ गते, ३ गते, ६ गते र ८ गते कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका तय भएको छ ।

यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान हुनेछ भने मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १ गते, ४ गते, असार ६ गते र ७ गते उडान हुनेछ ।

साउदीमा समस्यामा परेका नेपालीलाई ल्याउन असार १ गते, ४ गते, ५ गते र १० गते उडान हुनेछ ।

ओमानमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो उडान असार १ गते हुने भएको छ । त्यसपछि अर्को उडान असार ४ गते, ७ गते हुनेछ भने बहराइनमा समस्यामा परेका नेपालीलाई असार ३ गते स्वदेश ल्याइने भएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया