कर्णाली प्रदेश सभामा कांग्रेस सांसद अनुपस्थित

 असार २०, २०७७ शनिबार १९:५४:४९ | मुना हमाल
unn.prixa.net

सुर्खेत – नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बैठकमा उपस्थित भएका छन् । आउँदो आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि असन्तुष्टि जनाएका उनीहरुले सरकारले आफ्नो माग पूरा नगरेकाले शनिबार बसेको बैठकमा उपस्थित नभएका हुन् । 

गएको असार १० गते विनियोजन भएको बजेटमाथि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसले प्रदेश सभाको बैठक अवरुद्ध गरेको थियो । त्यसयता चार पटक बैठक नबसेर स्थगित भइसकेको छ । 

कांग्रेससहित सत्तापक्षकै सांसदहरुले सरकारले एकमुष्ट रुपमा बजेट ल्याएकाले शीर्षकअनुसार नल्याएसम्म बजेट पारित हुन नदिने अडान राख्दै आएका थिए । तर नेकपा संसदीय दलको तीन पटक बैठक बसेपछि बजेट संशोधन गर्ने सहमति भएपछि सत्तापक्षका सांसदहरु बैठकमा सहभागी हुन तयार भएका थिए ।  

शनिबार सत्तापक्षका सांसद र राप्रपाका एक जना सांसदको उपस्थितिमा मात्रै बजेटमाथि छलफल सुरु भएको छ । बजेटको दफाबार छलफलमा प्रतिपक्षी दलको बस्ने ठाउँ खाली हुँदा पनि सभामुख राजबहादुर शाहीले तीन पटकसम्म नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको नाम उच्चारण गरेर छलफलमा सहभागी गराउन बोलाउनुभएको थियो । लगत्तै छलफलमा नेकपाका चन्द्रबहादुर शाहीलाई रोस्ट उपलब्ध गराउनुभएको थियो । 

बैठकमा राप्रपाका प्रदेश सभा सदस्य सोशिला शाहीले प्रतिपक्ष दलका नेता किन नआएको भनेर सभामुखसँग जिज्ञासा राख्नुभएको थियो । उहाँले बजेट जस्तो महत्त्वपूर्ण छलफलमा सबैको सहभागिता हुन आवश्यक रहेको बताउँदै प्रतिपक्षलाई पनि छुट्याउनु नहुने उहाँको भनाइ थियो । सभामुख शाहीले प्रतिपक्ष बैठकमा सहभागी किन नभएको भनेर जानकारी नभएकाे बताउनुभयो ।  

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठले आफूहरुले भनेअनुसार बजेटको किताब नआएको छलफलमा सहभागी हुनुपर्ने औचित्य नठानेको प्रतिक्रिया दिनुभयो ।

मन्त्रालयगत रुपमा बजेट छुट्टिएर ठोस योेजनासहित बजेट विनियोजन हुनुपर्ने उहाँको भनाइ छ । उहाँले एक/दुई दिनमा किताब उपलब्ध गराएर मात्र बैठकमा सहभागी हुने तर भनेअनुसार नभए आफूहरुले केही उपयुक्त निर्णय गर्ने जानकारी दिनुभयो । उहाँले यस विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया