स्थायी रुपमा बसाइँ सरी आउनेलाई दुहुनो गाई उपहार

 असार २१, २०७७ आइतबार १०:३०:१९ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटाको छथरजोरपाटी गाउँपालिकाले स्थायी रुपमा बसाइँ सरी आउने परिवारलाई दुहुनो गाई उपहार दिएको छ ।

खाली, खोल्सा तथा बाँझो जमिनको सदुपयोग गर्न यस चालू आर्थिक वर्षमा छथरजोरपाटी गाँउपालिकामा स्थायी रुपमा बसाइँ सरी आएका ९ जनाको परिवारलाई लहिनो दुहुना गाई उपहार दिइएको छ ।
बसाइँ सरी आएका ९ घर परिवारलाई निःशुल्क गाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताउनुभयो ।

गाउँपालिकाभित्र स्थायी रुपमा बसाइँ सरी आएको कम्तीमा तीन महिना भएका परिवारलाई दुहुनो गाई वितरण गरिएको हो ।

 बसाइँ सरी आएका परिवारलाई तत्कालको लागि जीविकोपार्जनमा समस्या पर्ने र दुहुनो गाई भएपछि तत्काल दुध बेचेरै पनि केही आम्दानी  हुने भएकाले यो कार्यक्रम अघि सारिएको अध्यक्ष लिम्बूको भनाइ छ । 

गाउँपालिकामा स्थायी बसोबास गर्न आएकाहरुलाई गाई उपहार कार्यक्रमले प्रोत्साहन मिल्नुको साथै खाली, खोल्सा तथा बाँझो जमिन सदुपयोग गर्न सहयोग पुग्नेछ । चालू आर्थिक वर्षमा यस गाउँपालिकामा महालक्ष्मी नगरपालिकाबाट २, पाख्रीबास नगरपालिकाबाट १ र धनकुटा नगरपालिकाबाट ९ घरपरिवार बसाइँ सरी आएका छन् ।

गाउँपालिकाले जिल्ला भित्र वा बाहिरी जिल्ला जहाँसुकैबाट बसाइँ सरी आएको भए पनि ती परिवारहरुलाई दुहुनो गाई उपहार दिने जनाएको छ । गाईको गाउँपालिकाले नै निःशुल्क बीमाको समेत व्यवस्था गरेको छ ।

यसैबीच गाउँपालिकाले खाली तथा बाँझो रहेका जग्गा सदुपयोग तथा कृषि व्यवसायलाई व्यवसायिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बढाउन कृषि प्रवर्द्धन स्रोत भर्ना सापटी कार्यक्रमका लागि २० लाख रुपैयाँ छुट्याइएको छ । यस्तै कृषि क्षेत्रमा किसानलाई प्रोत्साहन गर्न सय मुरी धान, बीस हजार रुपैयाँ बराबरको सम्मान लगायतका कार्यक्रमहरु अगाडि सारिएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया