गैरकानुनी गर्भपतनको क्रममा आमा र शिशुकाे ज्यान गयाे

 साउन २१, २०७७ बुधबार १९:५५:४२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुमकोटको एक निजी अस्पतालले गैरकानुनी ढङ्गले गर्भपतन गराउन खोज्दा एक महिला र पेटमा रहेको शिशुको ज्यान गएको छ । 

सिस्ने गाउँपालिकाको रुकुमकोटमा रहेको रुक्मिणी हस्पिटल प्रालीले गैरकानुनी ढङ्गले गर्भपतन गराउन खोज्दा मुसिकोट नगरपालिकाकी २६ वर्षीय पुष्पा घर्ती र पेटमा रहेको शिशुको मङ्गलबार ज्यान गएको हो ।

मङ्गलबार बिहान आमा र शिशुको ज्यान गएको सूचना आएलगत्तै त्यस कार्यमा संलग्न चिकित्सक र महिलाका प्रेमी बताउने एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेश गुरुङले बताउनुभयो । घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।  

अस्पतालले ती महिलाको पेटमा २२ हप्ताको बच्चा रहेको तर जीवित नभएको भन्दै अप्रेशन गरिएको जनाइएको छ । अस्पतालका डाक्टर रुपेशकुमार सिंङले अप्रेशनपछि अत्यधिक रक्तश्राव हुँदा आमा र शिशु दुवैको ज्यान गएको स्वीकार गर्नुभएको छ । 

पुष्पा रुकुमकोटमा मजदुरी गर्दै आउनुभएको थियो । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा विवाह गर्नुभएकी पुष्पाको वैवाहिक सम्बन्ध सुमधुर हुन नसकेपछि रुकुमकोटमा तीन जना बच्चासहित बस्दै आउनुभएको थियो । 

मजदुरी गर्दै आउनुभएकी उहाँको सिस्ने गाउँपालिका ४ का गोश घर्तीसँग प्रेम सम्बन्ध रहेको थियो । उहाँका प्रेमीले त्यो गर्भ आफ्नो भएको स्वीकार गरेका छन् । तिनै प्रेमीले ‘श्रीमान हुँ’ भनेर पुष्पालाई गर्भपतन गराउन अस्पताल लगेका थिए । आउँदो असोजमा विवाह गर्ने विषयमा दुवै जनाको समझदारी रहेको उनीहरुले प्रहरीसमक्ष बताएका छन् । 

महिलाको मृत्युपछि उहाँका बुवा जयबहादुर घर्तीले प्रेमी भनिएका गणेश र डा. सिंहविरुद्ध मुद्दा दर्ता गराउनुभएको छ । मृतक आमा र शिशुको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ । पक्राउ परेका दुवै जनाको अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया