सेती नदीमा पानीको सतह बढ्न थालेपछि डोटीका केही बस्तीमा बाढीको जोखिम

 साउन २६, २०७७ सोमबार १३:१७:३४ | विमल बिष्ट
unn.prixa.net

डोटी - सेती नदीमा पानीको बहाव ८ दशमलव ४ क्युसेक पुगेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रकाअनुसार सेती नदीको जलसतह बढेको हो । 

सेती नदीमा आज गरिएको पानीको बहाव मापनअनुसार ८ दशमलव ४ क्युसेक रहेको छ । यो चेतावनी तहभन्दा माथि हो । केन्द्रकाअनुसार ३ दशमलव ५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले धानखेतमा कटान गर्न थालेको छ ।

बाढीका कारण नदी आसपासका घरहरु डुबानको खतरामा परेका छन् । नदीमा पानीको बहाव बढेपछि नदी आसपासका बस्तीका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । सेती नदी आसपासका बस्तीहरु बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा तथा नारीदाङका बासिन्दालाई विशेष गरी रातिको समयमा सचेत रहन प्रहरी प्रशासनले आग्रह गरेको छ ।

त्यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ । सेती नदीमा पानीको बहाव बढेकाले नदी आसपासका बासिन्दालाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएकालाई केही दिन नदीमा नजानसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सेती नदीमा पानीको बहाव निकै बढेको छ, नदी आसपासका नागरिकसहित सेतीमा माछा मार्दै आएका नागरिकलाई पनि पानीको बहाव नघटुञ्जेल नजान आग्रह गरेका छौँ ।’ 

नदी तटीय क्षेत्र र डुबान भइरहने होचा क्षेत्रमा बसोबास गर्नेलाई सचेत रहन समेत स्थानीय प्रशासनले आग्रह गरेको छ । त्यसैगरी लगातारको वर्षातका कारण बाढी पहिरोको जोखिम बढेकाले प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’ मा बस्न निर्देशन समेत दिनु भएको छ । 

विपद् तथा नदीबाट हुने खतराबाट जोगिन प्रशासनले चौबीसै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशनसमेत दिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । जिल्लामा रहेका विभिन्न अन्य नदी तथा ठूला खोलामा पानीको सतह मापन गरिने उपकरण नभएका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न थालेपछि सतर्कता अपनाउन प्रशासनले स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।

जिल्लामा लगातार वर्षा भइरहे पनि अन्य साना नदीमा पानीको बहाव सामान्य अवस्थामै रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया