दशैँकाे बेला सुपथ मूल्यका पसल नखुल्दा उपभोक्तालाई समस्या

 कात्तिक १, २०७७ शनिबार १६:१३:३५ | विमल बिष्ट
unn.prixa.net

डोटी – घटस्थापनाको दिनसम्म पनि डोटीमा सुपथ मूल्यका पसल खुलेका छैनन् । उपभोक्तालाई दशैँ, तिहारमा नुन र चिनी किन्न सहज होस् भन्नका लागि ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ शाखा कार्यालय दिपायलले बर्सेनि खोल्दै आएको सुपथ मूल्यका पसल यो वर्ष अहिलेसम्म सञ्चालनमा आएका छैनन् । 

जिल्लामा सुपथ मूल्यका पसलहरु सञ्चालनमा नआउँदा उपभोक्ताहरुलाई समस्या हुँदै आएको छ । सुपथ मूल्यको सामान किन्न भन्दै यहाँका नागरिकहरु दिपायलकाे पिपल्लामा रहेकाे साल्ट ट्रेडिङ कर्पोरेशनको शाखा कार्यालयमा आउने गरेका छन् । सुपथ मूल्यका पसल सञ्चालनमा नआएका कारण गाउँबाट दशैँ, तिहारका लागि सहुलियत दरको नुन र चिनी किन्न आउने ग्राहकहरु रित्तो हात फर्किन बाध्य छन् ।

डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराईले भने साल्ट ट्रेडिङ कर्पोरेशन दिपायल शाखाबाट तत्काल सुपथ मूल्यका पसल चलाउन निर्देशन दिएको बताउनुभएको छ । 

‘गोदाममा नुन, चिनी जे जति छ, सोही अवस्था हेरेर पसल चलाउन भनेको छु, कर्मचारी पठाएर भए पनि चाडबाडमा पसल चलाउनु पर्छ’, उहाँले भन्नुभयो ।

यहाँको बजारमा चिनी एक किलोको ९० रुपैयाँ र नुनको २५ रुपैयाँ पर्ने गरेको छ । विगतमा सुपथ मूल्यका पसलमा नुन १८ रुपैयाँ किलो र चिनी प्रति किलोको ६५ रुपैयाँ मा बिक्री हुँदै आएको थियो । यो वर्ष क्षेत्रीय कार्यालय धनगढीबाट चिनी अभावले नआएको हुँदा पसल सञ्चालन गर्न नसकिएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय दिपायलले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन क्षेत्रीय कार्यालय धनगढीका प्रमुख केशव पाण्डेले आवश्यक कर्मचारी तथा चिनी अभावका कारण दिपायल साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयबाट सुपथ मूल्यका पसल सञ्चालन गर्न नसकिएको बताउनुभयो । 

‘हामीसँग केही दिनमा चिनी आउदैछ, दिपायलमा आवश्यक कर्मचारी नहुँदा पसल सञ्चालन गर्न सकेका छैनौँ’, उहाँले भन्नुभयो, ‘स्थानीय तहले पसल सञ्चालन गर्न चिनी र नुन माग गरे तत्काल दिन सक्छौँ ।’

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया