गाेरखा : बन्द भएन अवैध क्रसर, प्रशासन कार्यालय बल्ल विवरण खोज्दै

 मंसिर १०, २०७७ बुधबार १८:२८:३८ | किरण लोहनी
unn.prixa.net

गोरखा – अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगको अनुगमन गरी तत्काल बन्द गराउन गृह मन्त्रालयले निर्देशन गरे पनि गोरखामा भने त्यो निर्देशन कार्यान्वयन नभएको पाइएको छ । गृह मन्त्रालयले गएको कात्तिक २५ गते मन्त्रीस्तरीय निर्णय गर्दै अवैध रुपमा सञ्चालित क्रसर उद्योग एक हप्ताभित्र बन्द गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई कात्तिक २६ गते निर्देशन गरेको थियो ।

तर त्यो निर्देशन आएको दुई हप्ता बितिसक्दा पनि गोरखाको गण्डकी गाउँपालिका ८ घ्याल्चोकको एक क्रसर उद्योग भने अवैध रूपमा सञ्चालन भइरहेको हो । बालुवा प्रशोधन गर्ने उद्देश्यले दर्ता भएको घ्याल्चोक सिद्धिदर्शन सप्लायर्सले क्रसर उद्योग पनि सञ्चालन गरेको हो । 

‘हामीकहाँ दर्ता भएको फर्मको व्यवसायको प्रकृतिमा बालुवा प्रशोधन गर्ने मात्रै उल्लेख छ, क्रसर उद्योग चलाउन त कानुनी रूपमा मिल्दैन’, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिनेश पौडेलले भन्नुभयो, ‘यस फर्मले क्रसर उद्योग पनि सञ्चालन गरेको छ भन्ने हल्ला चाहिँ आएको छ, यथार्थ बुझ्दैछौँ ।’ 

बालुवा प्रशोधन गर्ने उद्देश्यले मात्रै दर्ता भएको उद्योगले एक वर्षयता क्रसर उद्योगसमेत सञ्चालन गर्दै आए पनि सरोकारवाला सरकारी निकाय भने बेखबर जस्तै रहेको पाइएको छ । ‘घ्याल्चोकको बिरौटी भन्ने ठाउँमा त्यो उद्योग चलिरहेको छ, पृथ्वी राजमार्गको चरौँदी नजिकैबाट स्पष्ट देखिन्छ, स्थलगत रूपमा जान पनि हाइवेबाट बढीमा आधा घण्टा मात्रै लाग्छ’, एक स्थानीयले भने, ‘तर अहिलेसम्म सरकारी निकायलाई थाहासमेत नहुनु लाजमर्दो कुरा हो ।’ 

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बालुवा प्रशोधनको मात्रै उद्देश्य राखेर क्रसर उद्योग सञ्चालन गर्नु झन् गैरकानुनी हुने बताउनुभयो । ‘त्यस्ता उद्योग एक हप्ताभित्र बन्द गराउनू भनेर हामीले कात्तिक २६ गते परिपत्र गरेका हौँ, बन्द गराउनुको अर्थ अब कच्चा पदार्थ आयात रोक्नु र मेसिन चल्दैन भनेर सुनिश्चित गर्नु हो ।’

तर दिउँसो बन्द हुने त्यस उद्योगले बिहान र विशेष गरी रातको समयमा नदीजन्य पदार्थ सङ्कलन गरी क्रसर उद्योग सञ्चालन गर्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । उत्पादित नदीजन्य सामग्री प्रहरीको मिलेमतोमा धादिङतर्फ निकासी हुने गरेको पनि स्थानीय बासिन्दा बताउँछन् । 

जिल्ला प्रशासन कार्यालयले भने जिल्लामा सञ्चालित क्रसर उद्योगको विवरण सङ्कलन भइसकेको जनाएको छ । ‘हामीले घरेलु कार्यालयबाट अहिलेसम्म तीन वटा क्रसर उद्योगको विवरण सङ्कलन गरिसकेका छौँ, माग गरेअनुसारको विवरण आए नआएको रुजु गर्दैछौँ’, सहायक प्रजिअ एवं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवी पाण्डे खत्रीले भन्नुभयो, ‘जिल्लामा अन्य उद्योग पनि सञ्चालनमा छन् वा छैनन् भनेर खोजी गर्दैछौँ ।’   

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया