विवाद मिलेपछि बुडर–जोरायल सडकको काम सुरु

 मंसिर २४, २०७७ बुधबार २०:२७:४५ | विमल बिष्ट
unn.prixa.net

डोटी – सडक निर्माण गर्ने विषयमा गएको १८ वर्षदेखि विवादित बनेको डोटीको बुडर–जोरायल सडक निर्माण कार्यको काम अब भने सुरु भएको छ । सडक निर्माण कम्पनी तथा जग्गा धनीबीच उत्पन्न भएको विवाद गाउँपालिकाले सहमतिमा ल्याएपछि सडक फराकिलो पार्ने काम सुरु गरिएको हो ।

सडक चौडा पर्ने सहमति भएसँगै अहिले जोरायल गाउँपालिका २ बाँजिलेकदेखि खैरिखोला हुँदै जिजिकोट भएर तल्लो हाट जोड्ने सडकमा डबल कटिङको काम सुरु भएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्माण कम्पनी र जग्गा धनीको विवादले १८ वर्षदेखि काम बन्द भएको सडकमा सहमति गराएर अहिले सडक फराकिलो गर्न थालेका छौँ, सबैलाई चाहिने तथा अत्यावश्यक काममा सबैले सहयोग गर्न जरुरी छ ।’

यस सडक खण्डको बाटोमा विवाद भएपछि बाँजिलेकबाट गुँयली हुँदै रावल गाउँ भएर तल्लो हाटसम्म सडक निर्माण गरी यातायात सञ्चालन भइरहेको थियो । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश गौरवको आयोजनाकै रुपमा रहेको बुडर–जोरायल सडक खण्डको रिठादेखि चन्कट्टेसम्मको १७ दशमलव ३० किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु भएसँगै त्यस सडकमा रहँदै आएको विवादमा सहमति जुटेको स्थानीयबासी चित्रराज भट्टले जानकारी दिनुभयो । विसं.२०५८÷०५९ सालतिर सर्भे भएको ठाउँबाटै सडक निर्माण गर्ने सहमति भएर काम सुरु भएको जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुनाकुमारी बोहराले बताउनुभयो । 

राजेन्द्र निर्माण सेवा डडेलधुराको ठेक्का रहेको यस सडक कालोपत्रे गर्न ७२ करोड ५६ करोड ३१ लाख १५ हजार ६ सय रुपैयाँ बराबरको अनुमानित बजेट रहेको पूर्वाधार विकास कार्यालय डडेलधुराका प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो । अहिलेलाई सडक कालोपत्रे गर्न ३२ करोड ७१ लाख ४७ हजारमा २०७७ असार ३० गतेभित्र काम सक्ने सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया