डोटीका ग्रामीण सडकमा राती गाडी चलाउन राेक

 मंसिर २६, २०७७ शुक्रबार १४:७:१० | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीका ग्रामीण क्षेत्रमा रहेका कच्ची सडकमा रातको समयमा गाडी चलाउन बन्द गरिएको छ । राति गाडी चलाउँदा दुर्घटना बढेको भन्दै त्यस समयमा गाडी चलाउन बन्द गरिएको छ । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको जिल्ला कमिटीले डोटीमा रहेका ग्रामीण सडकमा रातको ६ बजेदेखि बिहान ६ बजेसम्म गाडी चलाउन बन्द गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई एक ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझेसँगै प्रशासनले ग्रामीण सडकमा रातको समयमा गाडी चलाउन रोक लगाउँदै सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

एक हप्ता पहिले बोगटान फुड्सिल गाउँपालिका ७ मा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको र रातको समयमा ग्रामीण सडकमा गाडी चलाउने कार्य तत्काल बन्द गर्न माग गर्दै आफूहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पेस गरेको नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटीका संयोजक डबल बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँका ग्रामीण सडक रातको समयमा गाडी चलाउन उपयुक्त छैनन् । जति दुर्घटना भएका छन्, ती सबै राति नै भएकाले दुर्घटना रोक्न भए पनि राति गाडी चलाउन बन्द गर्न हामीले माग गरेका हौँ ।’

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले ग्रामीण सडकमा रातीको समयमा कुनै पनि मालवाहक तथा यात्रु बोक्ने सवारी साधन (जीप) सञ्चालन कार्य तत्काल बन्द गर्न निर्देशन दिइएको र नियमको अटेर गरी गाडी चलाउनेलाई कारबाही गरिने बताउनुभयो । 

रातको समयमा गाडी चलाएकै कारण डोटीमा एक वर्षको अवधिमा १२ वटा ठूला दुर्घटना भइ २० जनाको ज्यान गएको र २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

यसैबीच गाडीको सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तथा समितिले तोकेको भन्दा बढी भाडा लिने सवारी साधनलाई पनि कारबाही गर्न माग गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया