प्रचण्ड–माधव समूहले हाेटलमा सांसद बन्धक बनाएकाे ओली समूहकाे आराेप

‘अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरू एकै ठाउँमा बस्ने संसदीय परम्परा कायममात्र राखिएकाे हाे’

 माघ ९, २०७७ शुक्रबार १३:५३:५५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिका ५ को पिप्लेमा रहेको हेटौँडा रिसोर्टमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव  समूहले प्रदेश सभाका सदस्यहरुलाई बन्धक बनाएर राखेको नेकपाको ओली समूहले आरोप लगाएको छ । 

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदलाई बिहीवार (हिजो) देखि हेटौँडा रिसोर्टमा बन्धक बनाएको मुख्यमन्त्री निकटका सांसद दीपक निरौलाले आरोप लगाउनुभयो । त्यहाँ राखिएका सांसदहरुलाई कसैलाई भेट्नसमेत नदिएको र छलफल र बैठकको बहानामा बाहिर निस्कन पनि समूहमा मात्र थोरै समय निस्कन दिएको निरौलाले बताउनुभयो । सांसदलाई बन्धक बनाउँदा उनीहरुको मानव अधिकार हनन् भएको ओली समूहका सांसदहरुले बताएका छन् । 

वाग्मती प्रदेशका भौतिक पूर्वाधार ताथ विकास मन्त्री रामेश्वर फुयाँलले भने हेटौँडा रिसोर्टमा सांसदहरुलाई के–कस्तो अवस्थामा राखिएको छ सञ्चार जगतले सत्य कुरा बाहिर ल्याउनुपर्ने बताउनुभयो । 

यता प्रचण्ड समूहका संसदीय दलका उपनेतासमेत रहनुभएका प्रदेश सभाका सदस्य शालिकराम जम्कट्टेलले भने अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरु एकै ठाउँमा बस्ने संसदीय परम्परा कायम मात्र राखिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीहरुले संसदीय परम्पराअनुसार मुख्यमन्त्रीका विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरु एउटै होटलमा बसेका हौँ । बन्धक बनाएका होइनौँ ।’ पहिले पनि आफुहरु सामूहिक रुपमा बस्ने गरेको र अहिले अविश्वास दर्ता गर्ने सबैजसो सांसदहरु एउटै होटलमा बसेको जम्कट्टेलले बताउनुभयो । ओली समूहका नेताहरुले पनि हेटौँडाको एभोेकाडो होटलमा सांसदलाई राखेको आफूहरुको जानकारीमा आएको र यहाँसँगै बस्दा बन्धक बनाएको भन्न नमिल्ने उहाँले बताउनुभयो । 

हेटौँडा रिसोर्टमा रहेका सांसदलाई भेट्नसमेत नदिएको बताउँदै ओली समूहका प्रदेश सभाका सदस्य निरौला भन्नुहुन्छ, ‘हेटौँडा रिसोर्टमा सुविधा सम्पन्न जेलमा राखिएको हो । यो भने सांसदलाई राख्ने नयाँ प्रकारको जेल नै हो । पहिलेका सङ्घीय सांसदलाई जस्तै गरी सांसद किनबेचको शृङ्खलासमेत सुरु भइसक्यो ।’ 

प्रचण्ड र ओली समूहका ४५ जना सांसदले मुख्यमन्त्रीका विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । यसपछि कसले बहुमत पुर्‍याउन सक्ने भन्ने रस्साकस्सी सुरु भएको छ ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

1 Comments

  • Bamdev Subedi

    Jan. 22, 2021, 8:36 p.m.

    "सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधि सभा विघटन : प्रधानमन्त्री" को समाचार र "प्रचण्ड–माधव समूहले हाेटलमा सांसद बन्धक बनाएकाे ओली समूहकाे आराेप" समाचार पढ्दा कतै "हेटौँडा रिसोर्टमा रहेका सांसदलाई" खुला मार्केटमा छोडिदिनु पर्यो भन्ने आसय त होइन ? होइन भने एभोकादो चाहि होटेल हुने , हेटौडा रिसोर्ट के जेल हो र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया