एसिड पीडितलाई रोजगारीको व्यवस्था गर्छाैँ : मुख्यमन्त्री पौडेल

 माघ २७, २०७७ मंगलबार १९:५९:१८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशको राजधानी हेटौँडामा मङ्गलवारदेखि ‘तेस्रो राष्ट्रिय बेटी सम्मेलन’ सुरु भएको छ । मूलधार महिला सेवा केन्द्रको आयोजनामा ‘लैङ्गिक बिभेद बुझी देऊ, हिंसा होइन खुसी देऊ’ भन्ने नाराका साथ सम्मेलन सुरु भएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले महिलाका अधिकारका पक्षमा आफू निरन्तर लागिपरेको बताउनुभएको छ । महिलालाई अपमान गर्नु भनेको आफूले आफूलाई कमजोर बनाउनुरहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । केही समय महिलाका लागि आरक्षण दिए पनि सधै आरक्षणमा भन्दा पनि सक्षम बनेर प्रतिस्पर्धामा आउनुपर्ने उहाँको भनाइ छ । महिलाहरु श्रीमान्, छोराहरुसँग आश्रित हुँदा पछाडि परेको उहाँले बताउनुभयो । 

एसिड पीडित महिलालाई वाग्मती प्रदेश सरकारले रोजगारी दिने मुख्यमन्त्री पौडेलले बताउनुभयो । शैक्षिक योग्यताका आधारमा एसिड पीडितहरुलाई रोजगारी दिने भनेर सङ्घीय सरकारले भने पनि पालिका र प्रदेश सरकारले समेत रोजगारी दिन सक्ने उहाँले बताउनुभयो । महिला र पुरुष मिलेमा मात्र समृद्ध नेपाल बन्ने उहाँको भनाइ छ । 

कार्यक्रममा पूर्व राज्यमन्त्री करिमा बेगम, काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, एसिड पीडित मुस्कान खातुन, विन्ध्यवासिनी कंशाकारलगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा समाजमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याएकाहरूलाई सम्मान गरिएको थियो ।

मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरूको एकता गर्ने उद्देश्यले हेटौँडामा तेस्रो राष्ट्रिय बेटी सम्मेलन सुरु गरिएको हो । समाजमा हुने महिला हिंसालगायत विभिन्न कुप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक कमिटीका संयोजक नजबुल खानले जानकारी दिनुभयो । 

सम्मेलनमा देशभरबाट एक सय जनाको प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष रहेका छन् । यसअघि प्रदेश–१ मा पहिलो बेटी सम्मेलन र प्रदेश नं २ मा दोस्रो बेटी सम्मेलन सम्पन्न भइसकेको छ । 

मिसन नोट अफ डिसेन्ट आभासा राष्ट्रिय अभियान केन्द्रीय सञ्जाल र मूलधार महिला सेवा केन्द्र मासबेस उदयपुरको आयोजनामा विसं २०७५ माघ २७ देखि २९ गतेसम्म प्रदेश नं १ उदयपुरको गाईघाटमा ‘सहन नपरोस् हिंसा र दुर्व्यवहार  : शिक्षा र स्वास्थलाई बनाऔँ चेलीबेटी सशक्तीकरणको हतियार’ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय बेटी सम्मेलन सम्पन्न भएको थियो । विसं २०७६ माघ २७ देखि २९ गतेसम्म प्रदेश नं २ को राजधानी जनकपुरमा ‘विकृतिका बन्धनहरू तोड्दै अघि बढौँ, मेची–महाकाली जोड्दै हिंसारहित समाज निर्माण गरौँ’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया