मेलुङ गाउँपालिका ७ को दुई बस्तीमा सिँचाइ सुविधा पुग्याे, बाह्रै महिना प्रयोग गर्न पाइने

 फागुन १८, २०७७ मंगलबार १४:५९:२० | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखाको मेलुङ गाउँपालिका ७ को दुई बस्तीमा १२ महिना नै प्रयोग गर्न पाउने गरी सिँचाइ सुविधा पुगेको छ । मेलुङ ७ को ज्यामिरे ध्रुवेडाँडा र ठाडीपैरी सोह्रबिसे बस्तीमा सिँचाइ सुविधा पुग्दा डेढ सयभन्दा बढी किसान प्रत्यक्ष लाभान्वित भएका छन् । 

तामाकोशी नदीबाट लिफ्ट गरी यस बस्तीमा सिँचाइ सुविधा पुर्‍याइएकाे मेलुङ गाउँपालिका ७ का वडाध्यक्ष नवराज खड्काले जानकारी दिनुभयो । यस सिँचाइ आयोजनाले पाँच सय रोपनीभन्दा बढी जमिन सिञ्चित हुनेछ ।  

सिँचाइका लागि बस्तीमा पुर्‍याइएकाे पानी हिउँदयाममा पशु तथा मानिसले समेत दैनिक प्रयोग गर्न सक्नेछन् । सिँचाइ सुविधा पुगेसँगै किसानले काउली, गोलभेँडा, खुर्सानीलगायतको व्यावसायिक खेती सुरु गरिसकेका छन् । 

आर्थिक वर्ष २०७६/०७७ मा मेलुङ गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ५०÷५० प्रतिशत लगानीमा मेलुङ गाउँपालिका ७ मा तामाकोशी ज्यामिरे धुर्वेडाँडा सिँचाइ योजना र फड्के खोला ठाडीपैरी सोह्रबिसे सिँचाइ योजना सञ्चालन गरिएको थियो । यस दुई सिँचाइ योजना ४० लाख रुपैयाँको लागतमा सम्पन्न भइ यस वर्षदेखि सञ्चालनमा आएको हो ।  

मेलुङ गाउँपालिकाको व्यावसायिक कृषि प्रवर्द्धनका लागि १२ महिना सिँचाइ उपलब्ध गराउने नीति रहेकाले कृषकसँग प्रत्यक्ष जोडिने सिँचाइ योजना थप बस्तीमा पुर्‍याइने मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

खेतीयोग्य जमिन र विभिन्न बाली लगाउन उचित हावा–पानी भए पनि सिँचाइ सुविधा नहुँदा किसानले व्यावसायिक खेती गर्न सकेका छैनन् ।   

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया