विद्यार्थीमा कोरोना देखिएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिनका लागि बन्द

 बैशाख ९, २०७८ बिहिबार १०:४२:१४ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि धनकुटा नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्था नाै दिनका लागि बन्द गरिएको छ । धनकुटा नगरपालिका काेभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को आकस्मिक बैठकले बिहीवार (आज) देखि १७ गतेसम्मका लागि नगर क्षेत्रभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

धनकुटा नगरपालिका ६ मा रहेकाे धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत २० वर्षीय छात्रमा बुधवार कोरोना सङ्क्रमण पुष्टि भएको थियाे । केही दिनदेखि ज्वरोले सताएपछि उनी मङ्गलवार जिल्ला अस्पताल धनकुटामा भर्ना भएका थिए । पीसीआर परीक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले बताउनुभयाे । 

ती छात्रमा ज्वरोसहित निमोनिया पनि देखिएको छ । उनी अध्ययनरत कलेजमा १० जनाभन्दा धेरै विद्यार्थीहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएकाे छ । विद्यार्थीमा कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स कलेजले सूचना प्रकाशित गरी अर्को सूचना नआएसम्म अनिश्चितकालका लागि कलेज बन्द गरेको छ । कलेज बन्द गरिएपछि लक्षण देखिएका सबै विद्यार्थीको पीसीआर परीक्षण सुरु गरिएको छ । 

धनकुटा नगर क्षेत्रभित्र नै विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि धनकुटा नगरपालिका सीसीएमसीले गरेको निर्णय सार्वजनिक गर्दै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले वैशाख ९ गतेदेखि १७ गतेसम्म धनकुटा नगर क्षेत्रभित्रका सबै शैक्षिक संस्था बन्द गर्न आह्वान गर्नुभएकाे छ । ​

प्रकाशित सूचनामा भौतिक उपस्थितिमा गरिने पठनपाठन बन्द गरी अनलाइन वा वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गरिएको छ । साथै अहिले सञ्चालन हुँदै आएका परीक्षा भने स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरी सञ्चालन गर्न भनिएको छ ।

धनकुटामा अहिले काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई रहेकाे छ ।   

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया