फ्लोर क्रसको मौसम !

 बैशाख ११, २०७८ शनिबार ९:२०:२१ | मिलन तिमिल्सिना
unn.prixa.net

आशैआशमा बाँचिरहेका आशबहादुरको ज्यानमा सास छउञ्जेल आशले बास गर्न छोडेको छैन । बास बसिरहेको आश त्यसै फासफुस होला कि भन्ने त्रासमा परेका बेला काठमाण्डौमा मेलम्चीको पानीले सडक क्रस गर्यो । त्यही पानीले कतिका घरमा फ्लोर क्रस गर्यो । ओभर फ्लो भएर फ्लोर क्रस गर्दै बगेको पानी पिएपछि आशबहादुरको सास बढ्यो । पानी पिएर मुन्टो ठाडो पार्दा अघिल्तिर अग्लो सेतो नयाँ धरहरा ठडिरहेको देखियो । नजिकबाट छोएरै धरहरा हेर्ने धोको जाग्यो । बाटाभरि छरिएका कोरोना भाइरसलाई क्रस गर्दै आशबहादुर फाल हानेर धरहरा ठडिएको ठाउँमा पुगे ।

धरहरा पुग्नेबित्तिकै झल्याँस्सै याद आयो झलनाथ खनालको । आफ्नै पार्टीका अध्यक्षलाई क्रस गर्न खोज्दै खनालले भाषणमा भनेका थिए -‘धरहरा केपी ओलीले बनाएको हो ? हैन यो त इञ्जिनियरले बनाएको हो ।’ आशबहादुरले धरहरा वरपर हेरे । काम गर्ने इञ्जिनियर देखिएनन् । कोही रङ्ग लगाइरहेका थिए, कोही इँटा बोकिरहेका थिए । धरहराको छेउमा बसिरहेका कोही भन्दै थिए -यो त कामदारले बनाएको ! अर्काथरी भन्दै थिए- 'पहिले भीमसेन थापाले बनाएका, अहिले केपी ओलीले बनाएका ।'

धरहराको जस कसलाई दिने कुरा बातबातमा क्रस भएको सुनेपछि आशबहादुरलाई लाग्यो-पहिले भीमसेन थापाले बनाउनै नपरेको धरहरा बनाए । त्यसपछि भुइँचालोले क्रस गर्दा दुई/दुई पटक धरहरा ढाल्यो । पछिल्लो भुइँचालोलाई क्रस गरेर ओलीले धरहरा बनाउने घोषणा गरे । उनको लहलहैमा पुनर्निर्माण प्राधिकरण, इञ्जिनियर र कामदारले धरहरा बनाए । 

धरहरा त ठडियो । तर पूरा काम नसकिँदै उद्घाटन गर्न हतारो भएको रहेछ । आशबहादुरले यहाँ पनि फ्लोर क्रस भएको देखे । एकपटक आशबहादुरलाई पनि धरहराको फ्लोर क्रस गर्न मन लाग्यो । धरहरा चढ्न तत्काल नपाइने भए पनि आशबहादुर कामदारको भेषमा माथि उक्लिए । अनि सुनको गजुर मुनीको बार्दलीमा उभिएर चारैतिर आँखा डुलाए । त्यहाँबाट हेर्दा देखियो–जताततै फ्लोर क्रस ! 

सडकमा आकाशे पुल र जेब्रा क्रस भए पनि मान्छेहरु जता सजिलो छ, उतैबाट सडक क्रस गर्दा रहेछन् । व्यापारीहरुले फुटपाथ नै क्रस गरेर सामान राख्दा रहेछन् । मान्छे मात्रै के कम, कोरोना भाइरस पनि फ्लोर क्रस गर्न सिपालु!
पोहोर महिनौं लकडाउन हुँदा र अहिले खोप लगाउन थाल्दासमेत कोरोनाले फ्लोर क्रस गरेको छ । कोरोनाले फराकिलो फड्को हान्दै फ्लोर क्रस गरेपछि सरकारले २५ जनाभन्दा बढी जम्मा हुन रोक लगायो ।

गाडीमा क्षमताभन्दा बढी यात्रु नराख्न र मास्क अनिवार्य लगाउन भन्यो । सकेसम्म घरबाहिर ननिस्कन आग्रह गर्यो । तर नियम बनाउने, आग्रह गर्ने र अर्कोलाई भन्नेहरु आफैले चाहिँ फ्लोर क्रस गरिरहेकै छन् । प्रधानमन्त्री हुलका हुल मान्छे बोलाएर दिनहुँ कार्यक्रम गर्छन् । अरु मन्त्री र नेताहरु पनि उसैगरी मान्छे जम्मा पारेर भाषण ठोक्छन् । 

प्रधानमन्त्री, मन्त्री र नेताहरुले नै नियमको फ्लोर क्रस गरेपछि नागरिक मात्रै के कम ! यहीबेला जात्रा, पर्व, विवाह, भोजको बेला परेको छ । भोज र पार्टीमा बोलाएपछि जानै पर्यो । बोलाएको ठाउँमा नगए दराजमा थन्क्याएको लुगा कहाँ जाँदा लगाउने ? घरमा बसेर दाल, भात मात्रै कति खाने ? भोजमा जाँदा थरीथरीका व्यञ्जन चाख्न पाइन्छ । नयाँ-नयाँ लुगा देखाउन पाइन्छ । यही कारण विवाह, भोज, जात्रा, पर्व आयोजना गर्ने र सहभागी हुनेले फ्लोर क्रस गरिरहेकै छन् ।

फ्लोर क्रस गर्ने नागरिक सार्वजनिक स्थल, सार्वजनिक गाडी र अरु ठाउँमा पनि उत्तिकै छन् । धेरैलाई लागेको छ, कोरोनाले फ्लोर क्रस गरेकाले उसलाई पनि क्रस गरेरै जित्नुपर्छ । कोरोनासँग ठाउँको ठाउँ भिड्ने हो । त्यसैले कोरोनाको डर नै भए पनि कतिपय काम नै नपरी घरको ढोका क्रस गरेर बाहिर निस्कन्छन् र नियम क्रस गर्छन् । धरहराबाट तलतिर हेर्दा जताततै फ्लोर क्रस गर्ने मात्रै !

नेकपा छँदा नारायणकाजी र वामदेवलाई सांसद बनाएर प्रचण्ड र माधवले संविधानमा सानो प्वाल पारेर क्रस गरे । अगुवाहरुले बाटो देखाएपछि ओलीले संसद विघटन गरेर फ्लोर क्रसमा ठूलै भ्वांग पारिदिए । प्रचण्ड, नेपाल, खनालहरुले पनि आफ्नो धरातल र अवस्था बिर्सेर फ्लोर क्रस गर्न खोजे ।

क्रस गर्ने बेला लामो फड्को मार्न खोज्दा अल्झिएर पछारिए । देउवा र कांग्रेसका अरु नेताहरु पनि बेलाबेला प्रमुख प्रतिपक्षको फ्लोर क्रस गरेर फड्को मार्न खोज्दैछन् । महन्थ, बाबुराम, उपेन्द्र र राजेन्द्र पनि फ्लोर क्रस गर्नकै लागि बेलाबेला खुट्टा उचाल्छन् । फ्लोर क्रस गरेर मन्त्री पड्काउन पाइने भएपछि सांसदहरु क्रस गर्न मिल्ने फ्लोर हेर्दैछन् । व्यापारी र बिचौलियालाई त पहिलेदेखि नै फ्लोर क्रस गर्ने बानी परेको छ । 

जता हेरे पनि फ्लोर क्रस गर्नेहरु मात्रै देखेपछि नियम क्रस गरेरै धरहरा चढेका आशबहादुरलाई झोँक चल्यो । धरहराबाट फटाफट ओर्लिए । आकाशे पुल र जेब्राक्रसलाई वास्तै नगरि सडक क्रस गरे । अनि आफ्नै आशको फ्लोर क्रस गर्दै उनले अब कुनै कुराको आश नगर्ने र जे पर्छ सो टर्छ भनेर चित्त बुझाउने निर्णय गरे ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया