दैलेखमा ब्राम्हणहरुले रक्षाबन्धन नबाँध्ने रे !

 भदौ ८, २०७५ शुक्रबार १६:२०:२० | अमर सुनार
unn.prixa.net

दैलेख – कसैले जातीय विभेद गरेमा २५ हजार रुपैंयाँसम्म जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने ‘जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन २०६८’ले व्यवस्था गरेको छ । उक्त कानूनले कुनै सेवा वा बस्तु प्रयोग तथा उपयोग गर्न सार्वजनिक वा निजी स्थानमा समेत रोक्न वा प्रतिबन्ध लगाउन नपाइने उल्लेख गरेको छ । 

कानूनमा त्यस्ता व्यवस्था भए पनि दैलेखमा भने ब्राम्हण समाज नामक संस्थाले दलितहरुलाई समेत रक्षाबन्धनको धागो बाँध्न पर्ने अवस्थामा यो वर्ष कसैलाई रक्षाबन्धन नबाँध्ने भनी रेडियोबाट सार्वजनिक सूचना प्रसारण गरेको छ । 

सूचनामा नयाँ ऐनमा ब्राम्हणहरुको अधिकार उल्लेख नगरेको कारण यो वर्ष पर्सी आइतबार परेको रक्षाबन्धन जिल्लाभर कसैलाई नबाँध्ने, मृत्यु वा विवाहवारी, पूजाआजा समेत सबै धार्मिक कार्य शुक्रवारदेखि रोकिएको जनाइएको छ । 

तागाधारीलाई जनै लगाई दिने र रक्षाबन्धनको धागो बाँध्ने गरेकोमा दलित समुदायबाट समेत हिन्दू भएर पनि आफूहरुलाई दैलेखका पण्डितहरुले विभेद गरेको भनी सार्वजनिक छलफलको विषय बनाएको सन्दर्भलाई लिएर पण्डितहरुले धार्मिक कार्य रोकेका हुन् । 

रक्षाबन्धनको धागो बाँध्दै जाने क्रममा बाटोमा दलितहरुले समेत हामीलाई पनि बाँधी दिनुस् भनी आग्रह गर्न सक्छन् र नबाँध्ने हो भने मुद्दा खेप्नुपर्ने सम्भावना देखिएको कारण यो वर्ष रक्षाबन्धन नबाँध्ने, मृत्यु वा विवाहवारी, आजापूजा समेत सबै धार्मिक कार्य रोकिएको ब्राम्हण समाजका क्षेत्रीय सदस्य आत्मप्रसाद उपाध्यायले टिप्पणी गर्नुभयो । 

उपाध्यायले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा हरेक दिन बिहान मन्दिरमा पूजाअर्चना गर्दै आएका पण्डितले समेत पूजाअर्चना रोक लगाएको बताउनुभयो । स्थानीय रेडियोमा अन्तरवार्ता दिँदै उपाध्यायले ‘हामीले सबै धार्मिक कार्य रोकेका छौँ, क्षेत्रीयहरुले आन्दोलन गर्नुपर्छ’ भनी उक्साउनुभएको छ । 

एक महिना अघि दैलेखमा आउनुभएका नयाँ प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटासँगको भेटघाटको क्रममा दलित अगुवाहरुले जिल्लामा पण्डितहरुले दलितहरुलाई रक्षाबन्धनको धागो नबाँध्ने र दलितको घरमा नाग नटाँस्ने गरेको समस्या दर्शाएको विषयलाई ब्राम्हणहरुले यस्तो निर्णय गरेका हुन् । 

दलित अगुवाहरुको गुनासोको आधारमा प्रमुख जिल्ला अधिकारी बास्कोटाले अगुवा ब्राम्हणहरुलाई बोलाएर ‘अन्यत्र जिल्लामा दलितहरुलाई पनि बाँधेकै छन् दैलेखमा दलित आन्दोलन सशक्त रहेछ, उनीहरुलाई विभेदजन्य गरे मुद्दा चल्न सक्छ’ भनी पण्डितहरुलाई सुझाव दिनुभएको थियो । 

प्रमुख जिल्ला अधिकारी बास्कोटाको सुझावपछि पण्डितहरुको ब्राम्हण समाज नामको संस्थाले औपचारिक निर्णय गरी क्षेत्री बाहुनको घरमा समेत विवाह वा मान्छे मर्दा समेत गरिने कर्मकाण्डमा सहभागी नहुने भनी रेडियोबाट सार्वजनिक सूचना जारी गरेको हो ।  

ब्राम्हण समाजले सार्वजनिक सञ्चार माध्यमबाट सूचना जारी गरेर दलित समुदायका अगुवाहरु माथि आक्रमण गराउने उद्देश्यले साप्रदायिकता सिर्जना खोजेको नेपाल मजदूर किसान पार्टीका जिल्ला सहसचिव लक्ष्मीकुमार बिकको टिप्पणी छ । 

साम्प्रदायिकताको स्थिति हुन नदिन र सहज रुपमा कानूनी हकको पालना गराउन राजनीतिक दल, जनप्रतिनिधिहरु, सरोकारवालाहरुलाई राखेर छलफल गर्न आवश्यक रहेको नेपाली कांग्रेसका जिल्ला सभापति कृष्णकुमार बीसीको सुझाव छ । छलफलबाट समाधान निकाल्नेमा आफू जुटेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले बताउनुभयो । 

दश वर्षअघि ब्राम्हण दण्डित भएका थिए 

२०६५ साल साउन ३२ गतेको रक्षाबन्धनमा रुम गाउँका २२ वर्षीय दिपक उपाध्यायले जनकलाल सुनार र चन्द्रबहादुर बिकलाई ‘तिमीहरु तल्लो जातलाई म धागो बाँध्दिन’ भनेको विषयमा दैलेख जिल्ला अदालतमा परेको मुद्दामा त्यही वर्ष चैत ३० गते तात्कालीन जिल्ला न्यायाधीश ठाकुरप्रसाद शर्माको इजलासबाट तीन महिना कैद र एक हजार रुपैंयाँ जरिवाना भएको थियो । 

त्यो मुद्दामा पुनरावेदन अदालत सुर्खेतले सोही सजाय सदर गरेकोमा सर्वोच्च अदालत पुगेपछि २०७१ माघ ६ गतेको फैसलामा एक हजार जरिवाना कायम गर्दै ३ महिना कैद मिनाहा गराएको थियो । 

यो बीचमा २०६७ फागुन १२ गते दैलेख जिल्ला अदालतको नयाँ भवन उद्घाटन गर्नुअघि होम गर्न बोलाउदा अदालतले आफूहरु विरुद्ध फैसला गरेको भन्दै दैलेखका ब्राम्हणहरुले होम गर्न अस्वीकार गरेका थिए । त्यो फैसला गर्ने न्यायाधीशले नेपाली सेनाको त्यतिबेला भवानी बक्स गणका पूजारीबाट होम गराउनुभएको थियो । 

दैलेखमा जातीय विभेदको अवस्था 

हिन्दू भएर पनि दलितहरुले धार्मिक क्रियाकलाप गर्न नपाएको भनी दलित अगुवाहरुले खिन्नता व्यक्त गर्दै आएका छन् । दलितहरुको घरमा मृत्यु वा विवाह, महायज्ञ, पूजा अर्चना गर्दा ब्राम्हणहरुले सोझै दलितको जादैनौँ भन्ने गरेका छन् । मन्दिर र धारा पँधेरा पनि दलितहरुलाई छुवाछुत कायमै छ । 

छोराले अन्तरजातीय विवाह गर्दा २०६८ भदौ १३ गते तोली गाउँका सेते दमाई मारिएको घटना, २०६६ असोज ६ गते अमृत बिकले ठकुरीकी छोरीसँग अन्तरजातीय विवाह गर्दा गाउँ समाजका ठालूहरुले केटीलाई खोसेर ठकुरी थरकै अर्को केटासंग विवाह गराइएको अनि अमृत बिकबाट २ वटा खसी र ६० हजार जरिवाना गराइएको थियो । 

गएको माघमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ तिजडाँडास्थित हिमालय आधारभूत विद्यालयमा विश्व खाद्य कार्यक्रमको दिवा खाजा दलित महिलाले पकाएको खाँदैनौँ भनी ६, ७ र ८ कक्षामा पढ्दै गरेका बालबालिकालाई शिक्षकहरुले उक्साएर ताला लगाएका थिए । तात्कालीन प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेको अग्रसरतामा सामूहिक भोज आयोजना गरी समस्या समाधान गरिएको थियो । 

समता फाउण्डेशनले गरेको पछिल्लो अध्ययनबाट नेपालभर अदालत पुगेका ६३ वटा घटनामध्ये दैलेख जिल्ला अदालतमा मात्र ६ वटा मुद्दा चलेका थिए । ती ६ वटामा सेते दमाई हत्या घटनाका दोषी ९ जनालाई कर्तव्य ज्यानमा २० वर्ष र जातीय विभेद कसूरमा थप १ वर्ष कैद भएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

10 Comments

  • Purna b k

    Aug. 28, 2018, 4:05 p.m.

    किन यो सरकारले जातिय छुवाछुत अन्त्य गर्दैन ? जबसम्म यो समाजमा जातीय छुवाछुत अन्त्य हुँदैन, तबसम्म विकाश र शान्ति हुँदैन, खै हाम्रो नेताले बुझेका ...

  •  0 Reply
  • Positive thinker

    Aug. 27, 2018, 10:52 a.m.

    हैन अाफुले मात्र खान्छौ, अाफैलाई मात्र बाध्छु भन्न पाउनु पर्छ। गाउँमा दलित लाई भित्र जान दिएन भनेर काठमाडौँ मा कुर्लने हरु आफ्नो घर लाई पनि सार्वजनिक गरे भयो नि सम्पत्ति माथिको हक तथा स्वतन्त्र भएर हिड्न पाउने अधिकार हनन गर्नु पाइदैन

  •  0 Reply
  • हस्त ब बिश्व्कार्मा

    Aug. 26, 2018, 10:43 p.m.

    मान्छे लाई मान्छे नछुने एक्काइसौं शताब्दी मा यो कस्तो अन्याय यो बर्माणवाद ले जातीय दन्द निम्त्याउने खोज्दछ ।दलित समादाय को सीप सरम चल्देन भनेको भए ठिक हुन थियोे तर श्रम सोशन गर्न दलित समुदाय का बनाएका मुर्ति को पुजा गर्ने दलित समुदाय अछुत भन्ने यी सामाज का अपराधि लाई कानुन ले सजाय दिन बाट छोतकरा दिदेइन

  •  0 Reply
  • बालबहादुर विश्वकर्मा

    Aug. 26, 2018, 1:29 p.m.

    सबैलाई समान ढङ्गकाे सामाजिक व्यवहारअावश्यक छ । कसैले कसैलाई विभेद गर्न पाईदैन ।कानुनलेकसैलाई छुट दिदैन ।

  •  0 Reply
  • कोशी लिम्बि

    Aug. 25, 2018, 4:09 p.m.

    ब्राम्हनबादि सोच ले एक दिन देश साम्प्रदयिक दङा हुन सक्छ।। देश भौतिक बिकास ले सम्पन्न हुदै मा देश को वास्तबिक बिकास हुन्न।

  •  0 Reply
  • bhim acharya

    Aug. 25, 2018, 3:54 p.m.

    समय र आवस्था अनुसार यो माग नि जायज नै हो थरका आधारमा हरेक समुदयले थरिए सङठन गरि समाजमा बिखलल पार्ने काम गरिरहेको यश परिस्थिति मा आफ्नो काम कर्तब्य र अधिकरलाई भुलेर सामाजिक मुल्य र मान्यता बिपरित काम गर्ने हरु अनि समाजमा जातिय बिभाजन को खाडल निम्त्याउनेहरु को लागि राम्रो काम

  •  0 Reply
  • मोति थापा

    Aug. 25, 2018, 10:45 a.m.

    आजको यो एक्काईसौं शताब्दीमा पनि जातीय विभेद, छुवाछुत, मान्छेले मान्छेलाई छुन नहुने ? मान्छे- मान्छे बीच यत्रो खाडल र अन्तर ? छि छि छि ,,,,, ( मान्छेले के के गर्यो कति गर्यो ब्रम्हाण्ड नै पिईसक्यो तनतनी, अझै हाम्रा पण्डित मख्ख छन् समाई टुप्पी जनै र कन्दनी )

  •  0 Reply
  • दिपक कुमार नेपाली

    Aug. 24, 2018, 6:43 p.m.

    हाम्रो समाजको उन्नति , प्रगतिको वाधक धर्म पनि एउटा पक्ष हो । धार्मीक संघ संस्थाहरुले आफ्ना मुल्य र मान्यतामा अाच आउन नदिइ धर्मलाइ समायानुकुल परिमार्जन गर्नुपर्छ । धर्म कलंकको रुपमा होइन समाज परिवर्तनको आधार बन्नु पर्छ ।

  •  0 Reply
  • केपी किरण

    Aug. 24, 2018, 6:30 p.m.

    वाइयात पाराले समाचार नलेखौँ । अरे भन्ने शब्दको शिर्षक किन? डोरो बाध्नैपर्ने बाध्यता कसैलाई छैन, आफुले नबाँधेसी दलितलाई बाधिदिनै पर्छ भन्ने छ र? यो जातीय द्वन्द मच्चाउने सबै बाउन, दलित जनजाति कुन्नी केके छन सबै मुर्दाबात । एउटै जातको साथी परेछौ लेख्ने तर जातीय खोल ओडेर हामिजस्ता सबैसँग मिलेर बसेकाहरुलाइ भाँड्न नखोज, उनिहरुले बाँधेनन भने नबाँध्ने भनेर शिर्षक लेख्न सकिन्थ्यो, अरे किन थपियो?

  •  0 Reply
  • Ramkrishna

    Aug. 24, 2018, 5:29 p.m.

    अज्ञानी यबम निन्दनीय कार्य. ब्राम्हणहरु को सद्बुबुद्दी आओस

  •  0 Reply

तपाईको प्रतिक्रिया