कोरोना सङ्क्रमितको घर–घर पुगेर आत्मबल बढाउँदै धनकुटाका जनप्रतिनिधि

 जेठ १३, २०७८ बिहिबार १३:५२:१८ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटाका जनप्रतिनिधिहरु कोभिड–१९ सङ्क्रमितहरूको आत्मबल बढाउनका लागि घरदैलोमा पुग्न थालेका छन् । सङ्क्रमण फैलिने दर बढ्दै गएपछि सङ्क्रमितहरूको आत्मबल बढाउँदै कोरोनालाई जित्न सहयोग पुर्‍याउने उद्देश्यले जनप्रतिनिधिहरूले घरदैलो अभियान सुरु गरेका हुन् ।

सङ्क्रमण भइ घरमा होम आइसोलेशनमा बसेकाहरूलाई भेटेर पालिकाको तर्फबाट गर्न सक्ने सहयोग गर्दै आएको जनप्रतिनिधिहरूले बताएका छन् । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र उपमेयर मञ्जु अधिकारी सङ्क्रमितको घरघरमा पुग्न थाल्नुभएको छ ।

होम आइसोलेशनमा बसेका सङ्क्रमितहरूको स्वास्थ्य अवस्था बुझेर उनीहरूलाई स्वास्थ्य परामर्श दिँदै रोगसँग लड्ने आत्मबल बढाउनका लागि जनप्रतिनिधिहरू उनीहरूको घर–घर पुग्न थालेका हुन् । स्वास्थ्य मापदण्ड अपनाउँदै भौतिक दुरी कायम गरी जनप्रतिनिधिहरूले सङ्क्रमितहरूलाई खानेकुरा र स्वास्थ्य सामग्री पनि दिने गरेका छन् ।  

सङ्क्रमितहरूलाई भेट्न मेयर नेपाल, उपमेयर अधिकारी, स्वास्थ्य शाखा प्रमुख पर्शुराम थापा, जनस्वास्थ्य अधिकृत डिल्लीराम श्रेष्ठ र मेयरका सचिवालय प्रमुख विष्णु दाहाल गाउँ–गाउँ पुगेका हुन् । जनप्रतिनिधिहरू सङ्क्रमितहरूकाे घरमा पुगेर उनीहरूलाई च्यवनप्रास, हर्लिक्स, स्यानिटाइजर, केही थान मास्क र आवश्यक औषधि प्रदान गर्ने गरेका छन् । 

अहिले महालक्ष्मी नगरपालिकामा एक सय १३ जना सक्रिय सङ्क्रमित रहेको नगरपालिकाका जनस्वास्थ्य अधिकृत डिल्लीराम श्रेष्ठले बताउनुभयो ।

त्यस्तै सहिदभूमि गाउँपालिकाले कोभिड–१९ को दोस्रो लहरबाट सङ्क्रमित हुने सङ्ख्या बढ्न थालेपछि त्यहाँ पनि जनप्रतिनिधिहरू घरघर पुग्न थालेका छन् । यस गाउँपालिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७९ रहेको छ ।

चौबिसे गाउँपालिकाले पनि सङ्क्रमितहरूलाई भेट्ने घरदैलो अभियानलाई तीव्रता दिएको छ । चौबिसे गाउँपालिकामा अहिले ५३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।    

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया