पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको आश्वासन

 भदौ ९, २०७५ शनिबार १९:४:२८ | उज्यालो सहकर्मी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्ने आश्वासन दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले किशोरी पन्तको हत्याका सम्बन्धमा गहिरो छानबिन गर्न सरकारले नयाँ छानबिन समितिलाई आवश्यक निर्देशन दिएको स्पष्ट पार्नुभयो । शनिबार निर्मला हत्याकाण्डको यथाचित छानबिन गर्न माग गर्दै बालुवाटार पुगेका प्रदेश ७ का पार्टीका सांसद एवम् नेताहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले छानबिनमा लापरबाही गरेको पाइए प्रहरी प्रशासनलाई समेत कडा कारबाही गर्ने बताउनु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भिम रावलले जानकारी दिनुभयो ।

 

भेटमा प्रदेश ७ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवम् नेताहरुले किशोरी पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न पार्टीका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री  ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका थिए । 

हत्यारालाई छानबिन गर्ने क्रममा भएका कमीकमजोरी औंल्याएर नागरिक समक्ष सार्वजनिक गर्न पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको सांसद रावलले जानकारी दिनुभयो ।

बलात्कारपछि हत्या गरिएकी किशोरी पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आएका प्रर्दशनकारीमाथि प्रहरीले गोली हान्दा शुक्रबार एकजना बालकको पनि ज्यान गएको र केही घाइते भएका छन् ।

त्यस घटनाबारे पनि छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई तत्काल राहतको व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गरिएको सांसद रावलले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया