युवा गाउँ पुगेपछि खनिए बाँझो खेत

 असार १८, २०७८ शुक्रबार ७:१०:५८ | विमल बिष्ट
unn.prixa.net

डाेटी - डाेटीमा लामाे समयदेखि बाँझो रहेका जमिनमा यस वर्ष धानलगायतका खेती गरिएको छ । अन्य वर्षको तुलनामा यो वर्ष जिल्लामा धान रोपाइँ बढी भएको छ । समयमै मनसुन सुरु भएका कारण डोटीमा यो वर्ष ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । 

कोरोना महामारीका कारण सहरबाट घर आएका युवा गाउँमै रहेका कारण बाँझो जमिनमा रोपाइँ गरिएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुरका अनुसार जिल्लामा कुल दश हजार ७१५ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएकोमा अहिलेसम्म कुल चार हजार ५०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।

यहाँका उच्च पहाडी र पहाडी क्षेत्रमा धान रोपाइँ छिट्टै भएको निर्देशनालयले जनाएको छ । यहाँका ग्रामीण क्षेत्रमा करिब धान रोपाइँ सकिएको छ भने पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्ला, घोलतडा लगायतका क्षेत्रमा रोपाइँ चलिरहेको छ ।

प्रदेशका अन्य आठ जिल्लाहरु कैलालीमा ५५, कञ्चनपुरमा ३५, अछाममा ४५ बाजुरामा ५५, बझाङमा ४५, बैतडीमा ४५, दार्चुलामा ६२, डडेल्धुरामा ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । प्रदेशभरि कुल एक लाख ८५ हजार ८४७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ । यो प्रदेशमा अहिलेसम्म ५८ हजार ३६८ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको धान उत्पादन हुने क्षेत्रफलको ४५.९५ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भइसकेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । यो वर्ष असार १५ अघि नै प्रदेशभरिमा ४५.९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको निर्देशनालय दिपायल राजपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो । उहाँले यो वर्ष राम्रो धान उत्पादन हुने लक्ष्य लिइएको बताउनुभयो । 

यही असार १० गतेसम्म भएको रोपाइँको तुलनामा सुदूरपश्चिम प्रदेशमा यो वर्ष ८.४१ प्रतिशतले बढी भएको बताइएको छ । नेपालमा दुई जिल्लामा बाहेक अन्य सबै जिल्लामा धान उत्पादन हुने गरेको छ । नेपालमा कुल १३० जातका धान उत्पादन हुँदै आएको निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा नौवटै जिल्लाका किसानले प्राय गरी मार्सी, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पालपाली धान लगाउँदै आएका छन् । यहाँको प्रसिद्ध धान जोरायले बासमती डोटीको जोरायल क्षेत्रमा मात्रै लगाउने र उत्पादन हुने गरेको छ । यहाँका विभिन्न जिल्लामा अझै पनि धान रोपाइँ सुरु भइरहेकाले धान रोपाइँ प्रतिशत अझै बढ्ने निर्देशनालयको दाबी छ । 

जिल्लामा विशेषगरी असारको पहिलो हप्तादेखि साउनको अन्तिम हप्तासम्म रोपाइँ हुन्छ । रोपाइँको चहलपहलले गर्दा यहाँका गाउँघर निकै रमाइला भएका छन् । जिल्लाका फाँट क्षेत्रका खेतमा रोपाइँको चहलपहल निकै बढेको छ। 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया