डोटीमा एउटा खानेपानी आयोजनाको ठेक्का पटक–पटक बिक्री, कमिसनको लाेभमा 'गुणस्तरहीन काम'

 असार २६, २०७८ शनिबार १९:१२:४६ | विमल बिष्ट
unn.prixa.net

प्रतिकात्मक तस्बिर

डोटी – डोटीमा खानेपानीको एउटा आयोजना ठेकेदारबीच पटक–पटक बिक्री हुँदा काम गुणस्तरहीन भएको उपभोक्ताले गुनासो गरेका छन् । डोटीको शिखर नगरपालिका वडा नं ४, ५ र ६ अन्तर्गत पर्ने मुडभरा, पच्नाली, तिजाली खानेपानी आयोजनाको काममा गुणस्तरहीन काम भएको सार्वजनिक भएको हाे ।

ठेक्का पाएको नागार्जुन जेभीआर कम्पनीले यस आयोजनाको काम पेटी ठेक्कामार्फत कमसल खालको सामग्री प्रयोग गरी काम गराउँदा गुणस्तरहीन कार्य भएको स्थानीयवासीको आरोप छ । ठेक्का पाएको निर्माण कम्पनीले भ्याटबाहेक दुई करोड ९१ लाख ४९ हजार ६४ रुपैयाँ १५ पैसामा ठेक्का सम्झौता गरेको थियो । 

यस कम्पनीले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभागको क्षेत्रीय कार्यालय धनगढीसँग ६ महिनामा काम सक्ने गरी २०७७ असोज ९ गते सम्झौता गरेको थियो । तर तोकिएको समयमा काम सम्पन्न हुन सकेन । ठेक्का सम्झौताअनुसारको काम गर्नुपर्ने निर्माण कम्पनी जेभीआरले पेटी ठेकेदारलाई ठेक्का बेचेकाले समयमै काम सम्पन्न हुन नसकेको स्थानीयवासीको आरोप छ ।

ठेक्का पाएको कम्पनीका प्रतिनिधि तथा दिपायल सिलगढी नगरपालिका–२ का स्थानीयवासी धनश्याम पाठकले यस आयोजना जोरायल गाउँपालिका–१ घण्टेश्वर बस्ने खेमबहादुर मगरलाई बिक्री गरेको तथ्यबाहिर आएको हो । पाठक पहिलो पक्ष बनेर दोस्रो पक्ष खेमबहादुर मगरलाई ठेक्का रकमको ६० प्रतिशत पाउने गरी पेटी ठेक्का दिएको लिखित प्रमाण फेला परेको छ । 

यसैगरी खेमबहादुर मगरले आफूले पाएको ठेक्का पनि कमिसनको आधारमा तेस्रो व्यक्तिलाई बिक्री गरेको पाइएको छ । यसरी निर्माण कम्पनीले ठेक्का सम्झौताअनुसार काम नगर्दा र कमिसनको आधारमा पेटी ठेकेदारलाई काम बेच्दा समयमा काम नसकिने र काममा पनि गुणस्तर नहुने गरेको छ ।

त्यही ठेक्कालाई फेरि जोरायल गाउँपालिका–३ सरस्वतीनगर बस्ने लीला ओलीलाई दोस्रो पक्ष बनाएर खेमबहादुर मगरले बिक्री गरेको प्रमाण पनि फेला परेको छ । उनीहरूबीच २०७७ कात्तिक १ गते लिखित सम्झौता भएको कागजको प्रमाण फेला परेको छ । खेम मगरले लीला ओलीलाई यस आयोजना एक करोड ३० लाख रुपैयाँमा बिक्री गरेको देखिन्छ । मगरले पनि ठेक्काको ६० प्रतिशत पाउने गरी तिजाली–पचनाली–मुडभरा खानेपानी आयोजना बेचेको पाइएको छ ।

खेमबहादुर मगरले पाएको ठेक्का फेरि कमिसनका आधारमा तेस्रो व्यक्तिलाई समेत बिक्री गरेको पाइएको हो । दुई करोड ९१ लाख रुपैयाँको ठेक्कालाई एक करोड ७० लाखमा बिक्री गरेर काम भइरहेको स्थानीयवासी शिवराज भट्टको आरोप छ । यसरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले कमिसन लिएर ठेका बेच्दा र कमिसनै कमिसनमा योजना निर्माण हुँदा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरेर काम हुने गरेको छ । यस खानेपानी आयोजनाका अध्यक्षको निधन भएकाले ठेकेदारले अन्य उपभोक्तालाई हातमा लिएर काम गरेकाले गुणस्तर खस्किँदो अवस्था देखिएको स्थानीयवासी बताउँछन् । 

यस विषयमा निर्माण कम्पनीका प्रतिनिधि धनश्याम पाठकसँग बुझ्दा उहाँले आफूले आयोजनाको ४० प्रतिशत निर्माण कम्पनीको हुने र ६० प्रतिशत पेटी ठेकेदारको रहने गरी काम दिएको स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले पेटी ठेक्कामा काम दिएको हुँ, पेटी दिएकाले के–के गरे थाहा भएन, विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले १५ प्रतिशत रकम मागेकाले समस्या भएको हो ।’ काम पेटी ठेक्कामार्फत दिएको भए पनि लाग्ने सामग्री तथा खर्च आफूले तिर्ने उहाँले जानकारी दिनुभयो । 

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनगढीका प्रमुख प्रकाश रावल खानेपानीको काम सम्झौताअनुसार नभए र गुणस्तरीय काम नभएको भए बिल पास नहुने बताउनुहुन्छ । 

शिखर नगरपालिका अन्तर्गत पर्ने तिजाली–पच्नाली–मुडभरा खानेपानी आयोजनाको १२ हजार लिटरको फिल्टरेशन ट्याङ्की निर्माणका लागि बजेट विनियोजन गरिएको थियो ।   

ठेक्का बेचेकाे पत्र–

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया