लमजुङका बाढी प्रभावित भन्छन्, ‘गाँस त पायौँ, अब बासको खाँचो छ’

 साउन ५, २०७८ मंगलबार २०:३५:४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङका बाढी प्रभावितहरूले आफूहरूलाई पुनर्स्थापनाकाे खाँचो रहेको बताएका छन् । पालिका सरकार, प्रशासन र विभिन्न सहयोगी व्यक्ति तथा सङ्घ–संस्थाबाट राहत पाएको तर अब आफूहरूलाई बस्ने घरको खाँचो रहेको बाढी विस्थापितहरूले बताएका हुन् । 

‘बाढीले बस्ने घर नै बगायो । दिउँसोको समयमा बाढी आएकाले जसोतसो ज्यान त बचाउन सकियो’, लमजुङ दोर्दी हिलेबजारकी गंगामाया गुरुङले भन्नुभयो, ‘ज्यान त बच्यो तर बस्नलाई घर छैन । अन्यत्र घर घडेरी पनि छैन । हामीलाई बस्ने घरको खाँचो छ ।’

उहाँ झैँ बाढीले धेरै क्षति पुर्याएको हिलेबजारका विस्थापितहरू अहिले छिमेकीका घरमा डेरा गरी बसेका छन् । 

मनसुन सुरु भएसँगै गएको असार १ गते आएको बाढीले लमजुङमा पनि निकै नै क्षति पुर्याएको थियो । दोर्दी खोलामा आएको बाढीले दोर्दी गाउँपालिका ८, हिलेबाजरका १९ घर र मर्स्याङ्दी गाउँपालिकाको भुलभुलेका तीन घर बगाएको थियो ।

बाढीका जोखिममा हिलेबजारका बस्ती तथा अन्य भौतिक संरचना संरक्षणका लागि नेपाली सेनाका साथै स्थानीय दोर्दी खोलामा तटबन्धनमा जुटेको स्थानीयवासी धर्म गुरुङले जानकारी दिनुभयो ।

‘बस्ती संरक्षणका लागि  दोर्दी खोलामा तटबन्धनका लागि गाउँपालिकाले पाँच लाख र प्रदेश सरकारले १० लाख रुपैयाँ विनियोजन गरेको थियो’, उहाँले भन्नुभयो, ‘तटबन्धनमा नेपाली सेनाले पनि सघाएको थियो । अहिले पनि स्थानीयवासी निरन्तर तटबन्धनमा जुटिरहेका छन् ।’ 

यहाँका प्रभावितहरूलाई सरकारी तथा व्यक्ति, संस्था, क्षेत्रबाट पनि राहत वितरण भइसकेको उहाँले बताउनुभयो ।

‘विस्थापितहरूलाई पुनर्स्थापनाकाे खाँचो छ । यसका लागि पालिकाले पहल गरिरहेको छ’, दोर्दी गाउँपालिकाका सूचना अधिकारीसमेत रहनुभएका गुरुङले भन्नुभयो ।

मनसुनजन्य विपदमा परेका नागरिकको घरदैलोमा पुगेर राहत तथा उद्धार कार्यमा आफूहरू जुटेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईँटेलले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया