बस्तीमुनिकाे सडक भत्किँदा पाँच परिवार विस्थापित

 साउन १३, २०७८ बुधबार १४:१:१२ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – मन्थली नगरपालिका ८ को जखनिटारमा बस्ती मुनिबाट निर्माण गरिएको कालोपत्र सडकमा पहिरो गएपछि पाँच घरका परिवार भएका छन् । १५ दिनअघि निर्माण गरिएको सडकमा पहिरो गएपछि पाँच घरका परिवार विस्थापित भएका छन् भने अन्य स्थानीयवासी त्रसित भएका छन् । 

अरू घर जोखिममा पर्नुअघि नै सडक तत्कालै निर्माण गरिदिन माग गरिएको मन्थली नगरपालिका गाइखुराकी यशोदा माझीले जानकारी दिनुभयो । ‘निर्माण व्यवसायीले कमजोर संरचना निर्माण गरेको कारण सडक भत्किएको हो । हामीले पहिला नै निर्माण व्यवसायीलाई माथि बस्ती भएकाले सडक निर्माण गर्दा लगाउने पर्खाल र बालुवा, सिमेन्टलगायत सामग्रीको गुणस्तरमा ध्यान दिन बारम्बार भन्यौँ । तर हामीले भनेको कुरा कतैबाट पनि सुनुवाइ भएन जसका कारण आज हाम्रो यो हालत भयो’, उहाँले भन्नुभयो ।  

जखनिटारको बस्तीमुनि सडक पहिरो जानुका साथै सडकको ठाउँ–ठाउँमा भासिने र चर्किने भएको छ । सडक निर्माणका क्रममा निर्माण सामग्री गुणस्तरहीन भएको भन्दै विरोध गर्दा समेत निर्माण व्यवसायीले बेवास्ता गर्दा सडक कालोपत्र भएको १५ दिन नबित्दै भत्किएको स्थानीयवासीको गुनासो छ ।

सडक भत्किँदा सिँचाइ कुलोमा पनि क्षति पुगेको छ । धान रोप्ने बेलामा सडकमा पहिरो गएर सिँचाइ कुलो बन्द हुँदा तीन सय रोपनीभन्दा बढी खेतको रोपाइँसमेत प्रभावित भएको स्थानीयवासी गणेश माझीले बताउनुभयो । 

मन्थली–गेलु सडक खण्ड अन्तर्गत चालु आर्थिक वर्षमा लुमिनस कन्स्ट्रक्शनले नौ सय मिटर सडक कालोपत्र गरेको हो । नौलो सफल बिहानी निर्माण सेवाले मेशिनरी पर्खाल निर्माण गरेको थियो । सडकले पुरिएको सिँचाइ कुलो तत्कालै सुरु गराउने मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो । ‘सडक सुरक्षाका लागि लगाइएको मेशिनरी पर्खाल फेरि लगाउन सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिइसकेका छौँ’, उहाँले भन्नुभयो ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया