म्याग्दीको गुर्जामा बाँझो र खाली रहेको सार्वजनिक पाखोमा जडीबुटी खेती

 भदौ ७, २०७८ सोमबार ७:५३:५१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाको बाँझो जमिनमा सहकारीले जडीबुटी खेती गर्न थालिएको छ । खाली तथा बाँझो रहेको सार्वजनिक जग्गामा एक सहकारीले अतिस जातको जडीबुटी लगाएको हो । 

गुर्जामा सञ्चालित हिमाली कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध किसानले अतिसको व्यावसायिक खेती सुरु गरेका हुन् । खाली तथा पाखो जमिनका रुपमा रहेको सार्वजनिक जग्गामा सामुदायिक वनसँगको सहमतिमा सहकारीमा आबद्धरूकिसानले अतिस जातको जडीबुटीको खेती सुरु गरेका धवलागिरि गाउँपालिका-१ का वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । 

स्थानीय किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने र आयआर्जन बढाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ सहकारी संस्थामार्फत पहिलो पटक २५ जना किसानले जडीबुटीको खेती थालेको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

उहाँले सामुदायिक वन क्षेत्रको साढे दुई हेक्टर क्षेत्रफलको जमिनमा अतिस जातको जडीबुटीको बेर्ना लगाएको बताउनुभयो । अतिसलाई मानिसको पेटभित्र पर्ने जुका मार्न तथा स्वास्थ्यवर्द्धक जडीबुटीका रूपमा मानिन्छ । 

बजारमा अतिस जडीबुटीको माग उच्च रहेकाले गुर्जामा यसको व्यावसायिक खेती थालिएको किसान समूहले जनाएको छ । समुद्री सतहदेखि दुई हजार सात सय मिटरको उचाइमा अवस्थित गुर्जामा बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौठेसल्ला, जटामसीलगायत बहुमूल्य जडीबुटीहरू पाइने वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । खाली जग्गाको उपयोग गर्ने नीतिअनुसार गुर्जामा अतिसको बेर्ना उत्पादन गरेर खेती विस्तार गरिएको हो ।  

सहकारीले आफ्नै लगानीमा जडीबुटीको खेती गरेको जनाएको छ । दुई सय ६० घरधुरी रहेको गुर्जाका स्थानीयवासीले मकै, जौ, फापर, गहुँ र आलुको खेती गर्ने गर्दछन् । उच्च हिमाली क्षेत्र पर्ने भएकाले गुर्जामा धान र कोदो खेती हुँदैन । धेरैजसो छन्त्याल जाति र केही दलित समुदाय रहेको गुर्जाका दर्जन बढी किसानले व्यावसायिक रूपमा भेडापालनसमेत गर्दै आइरहेका छन् । गुर्जामा लेकाली रातो च्याउ पनि पाइन्छ ।

यसअघि गुर्जामा इटालियन जातको उच्च घनत्वको स्याउका बिरुवा काठमाण्डौदेखि लगेर रोपिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको ५० प्रतिशत र धवलागिरि गाउँपालिकाको ७५ प्रतिशत अनुदान सहयोगमा गुर्जाका २५ किसानले  इटालियन जातको स्याउको आठ सय वटा बेर्ना लगाएका हुन् ।

गुर्जामा सुरु गरिएको स्याउको व्यावसायिक खेती जिल्लाकै पहिलो हो । राम्रो फल नदिएपछि गुर्जावासीले पुरानो स्याउको बगैँचालाई मासेर विदेशबाट आयातित उच्च घनत्वको हाइब्रिड जातको स्याउ लगाएका हुन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया