म्याग्दी : पहिराेले एक घर भत्कियाे, बेनी–जोमसोम सडक बन्द

 भदौ ८, २०७८ मंगलबार १२:२३:४१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिजो रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा एक घर भत्किएको छ । 

रत्नेचौरको सालघारी बस्ने भीमबहादुर थापाको दुईतले घरमा पानी चुहिएर गाह्रो भत्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गाह्रो भत्किएर घरमा बस्न नमिल्ने भएपछि थापाको परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । 

वर्षाकै कारण सडकभन्दा माथिबाट पहिरो खसेर हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड बन्द भएको छ । 

सडक खण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोला, ३ नम्बर वडा राहुघाट र अन्नपूर्ण गाउँपालिका-३ दानाको जलथलेमा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो । 

यसैगरि दानाको रुप्सेखोला र काभ्रेभीरमा सडक माथिबाट खसेको ढुङ्गामाटो र लेदोसहितको पहिरोको अवरोध हटाएर सडक सञ्चालन गरिएको छ भने जलथलेमा पहिरो हटाउने काम भइरहेको दाना प्रहरीचौकीले जनाएको छ । 

त्यस्तै पश्चिम म्याग्दी हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि अवरुद्ध बनेको छ । वर्षाका कारण जिल्लाको बेनी नगरपालिका-४ तातोपानी नजिकै घुमाउने भीरमा पहिरो खसेर बेनी–दरबाङ सडक पूर्ण रुपमा बन्द भएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी–बाग्लुङ खण्डको रत्नेचौरको रानीवन क्षेत्रमा पनि वर्षाले सडक हिलाम्मे भएपछि बन्द भएको छ ।

वर्षाकै कारण बेनी नगरपालिका-३ भकिम्लीको दुधेखोलामा आएको बाढीले कटान गर्दा बेनी–थामडाँडा–बरङ्जा सडक पनि आइतवार रातिदेखि बन्द भएको छ । त्यस सडक खण्डको दुधेखोलामा आइतवार राति बाढी आउँदा एक घर र एक गोठ बगाउनुका साथै एउटा भैँसी समेत बाढीले बगाएको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया