दुर्घटना रोक्न 'रिफ्रेश सेन्टर'

 भदौ ९, २०७८ बुधबार १७:५०:४८ | विमल बिष्ट
unn.prixa.net

डोटी – लामो दुरीको यात्रामा चालकहरू थकित भएर हुने दुर्घटना रोकथामका लागि अत्तरिया–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग अन्तर्गतको डोटीको बुडर बजारमा अस्थायी ट्राफिक प्रहरी पोस्टले 'रिफ्रेश सेन्टर' स्थापना गरेको छ । ट्राफिक प्रहरीले स्थापना गरेको रिफ्रेश सेन्टरमा अब चालकले अनिवार्य गाडी रोक्नुपर्ने नियम बनाइएको छ । 

त्यस सेन्टरमा कम्तीमा चालक र यात्रुले आधा घण्टासम्म आराम गर्नुपर्ने नियम रहेको अस्थायी ट्राफिक प्रहरी पोस्ट बुडरका प्रमुख तथा ट्राफिक प्रहरी सहायक निरीक्षक हर्कबहादुर साउदले बताउनुभयो । उहाँका अनुसार ट्राफिक प्रहरीले सुरक्षित सवारी सञ्चालनबारे कक्षा दिएपछि मात्र चालक पुनः गन्तव्यतर्फ जान पाउँछन् । 

निरन्तरको यात्राबाट थकित चालकले रिफ्रेश सेन्टरमा आराम गर्न पाउने, गाडीले पनि आराम पाउने र गति पनि नियन्त्रण हुने भएकाले सवारी दुर्घटनामा कमी आउने ट्राफिक प्रहरीको दाबी छ ।यहाँका पहाडी जिल्लाको एक मात्र राजमार्ग भीमदत्तमा बारम्बार सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति हुन थालेका कारण रिफ्रेश सेन्टर स्थापना गरिएको हो । 

सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाका विभिन्न ठाउँमा पनि रिफ्रेश सेन्टर स्थापना गर्ने तयारी भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा ट्राफिक प्रहरी प्रमुख वामदेव गौतमले जानकारी दिनुभयो । 

डाेटीकाे पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेकाे पिपल्ला बजारमा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालयले नागरिक सहायता कक्ष निर्माण गरेको छ । यात्राका क्रममा यात्रुलाई परेको समस्या समाधान होस् भन्ने उद्देश्यका साथ नागरिक सहायता कक्षा स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख तथा ट्राफिक प्रहरी नायब निरीक्षक सोभानसिंह कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार सवारी दुर्घटना रोक्न आवश्यकताअनुसार अन्य ठाउँमा पनि रिफ्रेश सेन्टर तथा नागरिक सहायता कक्षसमेत स्थापना गरिने भएको छ । भीमदत्त राजमार्गकाे बुडरमा रिफ्रेश सेन्टर सञ्चालनमा आएपछि सवारी दुर्घटनामा केही कमी आएको चालकहरू बताउँछन् ।

धेरैजसाे सवारी दुर्घटना चालकको लापर्बाहीले हुने गरेका र लामो दुरीको यात्रामा चालकलाई आराम चाहिने भएकाले पनि रिफ्रेश सेन्टर तथा नागरिक सहायता कक्षलाई पहिलो प्राथमिकतामा राखी निर्माण गरिन थालिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो । 

भौतिक पूर्वाधारको अभावमा डाेटीका विभिन्न ठाउँमा खेलिएका रिफ्रेश सेन्टर तथा नागरिक सहायता कक्ष आधुनिक बनाउन नसकिएको ट्राफिक प्रहरीको भनाइ छ । 

शैलेश्वरी यातायात प्राली दिपायलका प्रमुख प्रेमबहादुर रावलले दुर्घटना न्यूनीकरणका लागि रिफ्रेश सेन्टर तथा नागरिक सहायता कक्ष प्रभावकारी बनेको बताउनुभयो ।

दिपायल सिलगढी नगरपालिकाका उपमेयर शिवराज खड्काले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा सहचालक सहित यात्रुसँग जनचेतनामूलक कार्यक्रम गर्न पनि आवश्यक रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया