डाेटीमा दुई हजार दुई सयले लिए सुरक्षित गर्भपतन सेवा

 भदौ १५, २०७८ मंगलबार १२:५१:५० | विमल बिष्ट
unn.prixa.net

प्रतिकात्मक तस्बिर

डोटी – डाेटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएपछि सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रुपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । 

अन्तर्राष्ट्रिय दातृ निकाय ‘आइपास’को आर्थिक सहयोग तथा जिल्लामा कार्यरत संस्था सामुदायिक विकास मञ्चद्वारा यहाँका २२ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएपछि सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दै गएको हो । 

नचाहेको अवस्थामा गर्भ रहे वा अन्य कारणले रहेको गर्भ पतन गर्न पाउने सरकारले कानुनी मान्यता दिएपछि दातृ निकायको सहयोगमा जिल्लामा निजी क्षेत्रको गैरसरकारी संस्था सामुदायिक विकास मञ्चले सुरक्षित गर्भपतन सेवाका लागि आवश्यक सहयोग गर्दै आएको बताइएको छ ।

यसै सिलसिलामा त्यस संस्थाले जिल्लाको सायल गाउँपालिका तथा केआइसिंह गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवाका लागि प्रत्यक्ष रुपमा सहयोग गरिरहेको कार्यक्रमका फोकल पर्सन सिद्धराज जोशीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामी प्रत्यक्षरुपमा दुई पालिकाका स्वास्थ्य संस्थामा काम गर्दैछौँ, अन्य पालिकाका स्वास्थ्य संस्थामा पनि हाम्रो सहयोग रहँदै आएको छ ।’ लकडाउनका कारण पुरुषहरु घरैमा हुने र नचाहँदा नचाहँदै पनि गर्भ रहने गरेका कारण आफूहरु पछि गएर सुरक्षित गर्भपतन सेवा लिन बाध्य हुने गरेको सेवाग्राही महिलाहरु बताउँछन्।

गर्भ निरोधकको प्रयोगमा अनिच्छा

गर्भ निरोधक साधनको प्रयोग गर्ने बानीको विकास नभएका कारण डाेटीमा पछिल्लो समय गर्भपतन सेवा लिनेहरुको सङ्ख्या बढेकाे पाइएको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक तथा स्वास्थ्यकर्मी आइजङ्ग कुँवरले जानकारी दिनुभयो ।

 सायल गाउँपालिकाको इलाका स्वास्थ्य कार्यालय दौडमा मात्रै साउन महिनासम्म ८० जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका  कार्यालय प्रमुख शिवराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सुरक्षित गर्भपतन सेवा लिनु राम्रो हो तर गर्भपतनले महिलाको स्वास्थ्यमा पछि गएर समस्या देखिने भएकाले त्यसैको भर पर्नु भन्दा गर्भ निरोधक सामग्री प्रयोग गर्नु बढी उत्तम हुन्छ ।’

केआइसिंह गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा एक वर्षको अवधिमा कम्तीमा पनि २ सय जनाले गर्भपतन गराएका इलाका स्वास्थ्य कार्यालय वायलले जनाएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार डाेटीमा रहेका सबै स्वास्थ्य संस्थामा एक वर्षको अवधिमा कम्तीमा पनि दुई हजार २ सयभन्दा बढी महिलाले गर्भपतन गराएका छन् । कार्यालयका अनुसार गएकाे आर्थिक वर्षमा जिल्लामा एक हजार ३१ महिलाले सुरक्षित गर्भपतन गराएका थिए ।

गर्भपतन सेवा कुनै घटना वा आकस्मिक अवस्थामा गराउने विषय भए पनि पछिल्लो समयमा जिल्लामा गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकसित हुन थालेको जिल्ला स्वास्थ्य कार्यालयका तेजबहादुर शाहीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘समस्या परेका महिलालाई सुरक्षित गर्भपतन सेवा राम्रो हो । तर, यो सेवा जिल्लामा अस्थायी साधनका रूपमा विकसित हुन थालेको छ, जसले गर्दा पछि गएर महिलामा समस्या उत्पन्न हुने निश्चित जस्तै छ ।’

जिल्ला अस्पतालदेखि यहाँका गाउँघरका पोलिक्लिनिकसम्म गएर भए पनि महिला तथा किशोरीले गर्भपतन गराउन थालेका कारण स्वास्थ्यकर्मी चिन्तित रहेको छन् । 

चालु आर्थिक वर्षमा २० वर्षमुनिका २८ महिलाले सुरक्षित गर्भपतन गराएका छन् भने २० वर्षमाथिका ९ सय ७२ महिलाले गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

यहाँका निजी अस्पताल तथा पोलिक्लिनकमा गरिएका गर्भपतनको भने रेकर्ड राख्ने भने राखिएको छैन । सुरक्षित गर्भपतन सेवा दिने कानुनी मान्यता नपाएका यहाँका निजी अस्पताल तथा पोलिक्लिनिकको रेकर्ड हेर्ने हो भने जिल्लामा गर्भपतन गर्नेको सङ्ख्या निकै धेरै देखिने जिल्ला स्वास्थ्यको अनुमान छ । 

गर्भपतन गर्दा हुने असरको जानकारी पाउँदा पाउँदै पनि यहाँका महिला तथा किशोरीहरुले गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । गर्भपतन गर्नेको सङ्ख्या अधिक हुनुमा अस्थायी साधन प्रयोग गर्ने बानीको विकास नहुनु, अशिक्षा, अवैध यौन सम्पर्क र पुरुष शिक्षित हुँदा पनि महिलालाई दबाब दिएर गर्भपतन गराउने बानीका कारण बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी अमर भाटले जानकारी दिनुभयो । 

असुरक्षित रुपमा गर्भ रहेको खण्डमा निजी मेडिकलबाट समेत औषधि किन्ने तथा औषधि खाएर गर्भपतन गर्ने र औषधिको असरले उच्च रक्तश्राव हुँदै पछि गएर जटिल समस्या लिएर महिला तथा किशोरी अस्पतालमा उपचारका लागि आउने गरेको उहाँको भनाइ छ । 

सूचीकृत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट मात्रै गर्भपतन सेवा लिन सकिने नेपाल सरकारको प्रावधान रहे पनि जिल्लामा आफू अनुकूल तथा पायक पर्ने ठाउँबाट नै गर्भपतन गराउने बढेकाले झनै समस्या देखिएको छ ।

असुरक्षित तरिकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुनु आमाको स्वास्थ्यका हिसाबले चुनौतीपूर्ण कुरा भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार परिवार नियोजनका थुप्रै साधन हुँदाहुँदै पनि गर्भवती हुनुले परिवार नियोजनका साधन प्रयोगमा कमी आएको र यही कारणले आमाहरूमा समस्या हुने गरेको देखिन्छ । सम्बन्धित महिलाको मञ्जुरी विना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन सक्ने कानुनी प्रावधान रहेर आएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया