मुस्ताङको मुक्तिनाथ मन्दिर पाँच महिनापछि खुल्यो

 असोज १०, २०७८ आइतबार १०:३४:५७ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – कोरोना भाइरस सङ्क्रमणको कारण पाँच महिनादेखि बन्द मुस्ताङको मुक्तिनाथ मन्दिर आजदेखि खुलेको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डीसीएमसी) मुस्ताङको निर्णयअनुसार मन्दिर खुला गरिएको हो । 

हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारण तथा भक्तजनहरुका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।  गएको वैशाख महिनादेखि बन्द मुक्तिनाथ मन्दिर डीसीएमसी र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयपछि खुलेको हो । 

मुक्तिनाथ मन्दिर विकास समितिका अध्यक्ष समेत रहनुभएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पालना गर्ने गरी बाहिरी जिल्लाबाट आउने भक्तजन र तीर्थयात्रीलाई लक्षित गरेर मन्दिरमा दर्शन गर्न तथा पूजाआजाका लागि खुलाइएको बताउनुभयो ।

उहाँले स्वदेशीका लागि पीसीआर वा एन्टिजेन परीक्षण गरेको नेगेटिभ रिपोर्ट तथा कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएको खोपकार्ड र विदेशीलाई पीसीआर परीक्षणको सात दिनभित्रको रिपोर्टका आधारमा मुक्तिनाथ प्रवेशको अनुमति दिइएको जानकारी दिनुभयो । 

नेपालीहरु सोह्रश्राद्धको अवसरमा कागबेनीमा पुगेर श्राद्ध र पिण्डदान गरी मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुग्ने गर्दछन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि मुस्ताङमा गएको वैशाख तेस्रो हप्तादेखि जारी गरिएको निषेधाज्ञा गएकाे भदौको २३ गतेबाट हटाइएको थियो ।

मुस्ताङमा १८ वर्षभन्दा माथिका सबै नागरिकहरुले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएको अवस्थामा सङ्क्रमणदर समेत न्यून रहेकाले जनजीवनलाई सामान्य बनाउन निषेधाज्ञा हटाइएको थियो । 

मुस्ताङमा जारी निषेधाज्ञा हटाएसँगै प्रसिद्ध मुक्तिनाथ मन्दिर खुलाउनका लागि प्रशासनलाई दबाब परेको थियो । निषेधाज्ञा हटाएर मुक्तिनाथ मन्दिर खुलेसँगै कोरोना भाइरसका कारण थला परेको मुस्ताङको पर्यटन व्यवसायले अब गति लिने अपेक्षा गरिएको पर्यटन व्यवसायीहरु बताउँछन् । मुस्ताङका धार्मिक तथा पर्यटकीय स्थलहरु खुलेसँगै म्याग्दीको बेनी भएर मुस्ताङ जाने स्वदेशी पर्यटकहरुको चहलपहल समेत बढेको छ । 

समुद्री सतहदेखि ३ हजार ७ सय मिटरको उचाइमा रहेकाे मुक्तिनाथ मन्दिरमा १०८ धारा नुहाइ मन्दिरको दर्शन तथा पूजाआजा गर्न बर्सेनि भक्तजनकाे घुइँचो लाग्ने गरेकाे छ । 

कोरोना परीक्षणको नेगेटिभ रिपोर्टसहित पूर्ण खोप लगाएको आधारमा मुस्ताङ प्रवेशका लागि खुला गरिएपछि मुस्ताङमा स्वदेशी पर्यटकहरुको चहलपहल बढेको मुस्ताङ होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले बताउनुभयो ।

उहाँले पछिल्लो पटक कागबेनी र मुक्तिनाथ क्षेत्रमा स्वदेशी पर्यटकहरु आउने थालेको बताउँदै उपल्लो मुस्ताङको भ्रमणमा भने विदेशी पर्यटकहरु पुगेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया