अंग्रेजलाई हराएको दिनको सम्झनामा २००आैँ विजयोत्सव मनाइयो

 भदौ १८, २०७५ सोमबार २०:१८:१६ | देव पचभैया

पाल्पा – अंग्रेजसंगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा सोमबार पाल्पाको तानसेनमा  श्रीरणउजिरेश्वरी भगवतीको २०० आैँ विजय उत्सव मनाइएको छ । 

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रदेश नम्बर ५ का संस्कृति तथा पर्यटन मन्त्री लिला गिरि, प्रदेश ५ का सभामुख पूर्ण घर्तीमगर लगायतको उपस्थितिमा विजय उत्सव मनाइएको हो । 

पाल्पाका प्रतिनिधि एवम् प्रदेश सभा सदस्य  हरु, स्थानीय तहका प्रमुखलगायतको सहभागितामा विजय उत्सव सम्पन्न भएको छ । 

 

नेपाल एकीकरणको समयमा तात्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेको जात्रा हरेक वर्ष मनाइँदै आइएको छ । अंग्रेज फौजसँग बुटवलको जितगढीमा भएको लडाईँमा युद्धमा जानु अघि थापाले विजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दुर जात्रा गर्ने  भाकल गरेको र विजयपश्चात जात्रा मनाउन सुरु भएको इतिहासमा उल्लेख छ । 

पाँच वटा नाकाबाट नेपालमाथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जितगढीको लगाईमा अग्रेजफौजलाई नेपाली फौजले हराएको थियो ।त्यसैको सम्झनामा विक्रम सम्वत १८७६ देखि जात्रा मनाउन थालिएको भगवती मन्दिर गुठी व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले जानकारी दिनुभयो ।

जात्राको अघिल्लो दिन आइतबार राति आतिसवाजी, लाखेनाच प्रस्तुतसँगै भगवतीको रथ उचालेर बली दिइएको थियो । रातभरि जाग्राम बसेर भगवतीको महिमा गाइएको र सोमबार बिहानैदेखि पूजापाठ गरी रथलाई बजार परिक्रमा गरिएको थियो । 

दिउँसो १ बजे सेनाको  कर्णेलपूजा र प्रमुख जिल्ला अधिकारीको सरकारी पूजापछि भगवतीको रथलाई बजार परिक्रमा गराइएको थियो । 

सांस्कृतिक झाँकीसहितको र्‍यालीका साथमा बजार परिक्रमा गराइने रथको अघिपछि नेपाली सेना, प्रहरी, निजामती कर्मचारी, खेलाडी, विद्यार्थी, स्थानीय संघ सस्थाका प्रतिनिधि, भक्तजन लगाएको सहभागिता थियो । 

नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको इतिहास बोकेको श्रीरणउजिरेश्वरी भगवती माईको रथजात्रालाई राष्ट्रिय पर्बको मान्यता दिनुपर्ने स्थानीयको माग अहिलेसम्म पूरा नभए पनि स्थानीय बिदा दिएर पाल्पामा भगवती जात्रा मनाइएको हो । जात्रा अवलोकन गर्न पाल्पा, गुल्मी, स्याङजा, गुल्मी, पर्वत, पोखरा, बुटवल, अर्घाखाँचीलगायतका जिल्ला बाट भक्तजन आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

प्रधानमन्त्रीको शुभकामना 

अंग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा पाल्पाको तानसेनमा  मनाइएको श्रीरणउजिरेश्वरी भगवतीको २०० औँ विजयोत्सवका अवसरमा प्रधानमन्त्री केपी ओलीले  शुभकामना दिनुभएको छ । 

बुटवलबाट प्रवेश गरी पाल्पा कब्जा गर्ने अंग्रेज आक्रमणकारीको दुस्साहलाई नेपाली फौजले परास्त गरेको सम्झनामा मनाइएको भगवती जात्राको उपलक्ष्यमा प्रधानमन्त्री ओलीले सबै देशवासी र पाल्पाली जनातालाई शुभकामना दिनुभएको हो । 


 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया