जापानकी राजकुमारीद्वारा सर्वसाधारण युवकसँग विवाह

 कात्तिक ९, २०७८ मंगलबार १३:५४:४२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गर्नुभएको छ । विवादका बीच उहाँले आज मङ्गलवार सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिनुभएको छ । त्यसअघि उहाँले आफ्ना बुबा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर बिदाइ अभिवादन गर्नुभएको थियो भने आफ्नी बहिनीलाई अँगालो हाल्नुभएको थियो । 

जापानको शाही परिवारसम्बन्धी नियमअनुसार उहाँले सर्वसाधारणसँग बिहे गरेसँगै उहाँको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी कोकोको प्रेम सम्बन्ध आजदेखि वैवाहिक सम्बन्धमा रूपान्तरण भएको हो । उहाँहरूको मगनी गएकाे सन् २०१७ मा भए पनि विवाहकाे मिति तय भएको थिएन । 

जापानका राजा नारुहितोकी ३० वर्षीया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गर्नुभएको हो । उहाँका पति अमेरिकामा रहेकाे एउटा ल फर्ममा काम गर्दै आउनुभएको छ । विवाहपछि राजकुमारी माको पनि अमेरिका जानुहुने भएको छ । उहाँहरूको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको छैन भने उहाँले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्याग्नुभएको छ । 

यी दुवै कुरा परित्याग गर्ने उहाँ जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ । राजपरिवारकी सदस्यले सर्वसाधारणसँग विवाह गर्न लागेको भन्दै उहाँहरूको विवाहका बारेमा टिकाटिप्पणी हुदै आएको थियो । विरोधकाबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरि भने सकारात्मक चर्चाको विषय भएको छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया