कांग्रेस सांसद सिंहले मागे प्रधानमन्त्री ओलीको राजीनामा

 भदौ २०, २०७५ बुधबार १५:२४:१४ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारले संविधानको उल्लंघन गर्दै स्वेच्छाचारी ढंगले चलेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुभएको छ । 

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले संविधानको कार्यान्वयन गर्नु गराउनुपर्नेमा सरकार स्वंयम संविधान उलंघनमा सक्रिय भएकाले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको हो । 

संविधानले नेपाली नागरिकलाई  विनारोकटोक हिँड्डुल गर्ने स्वतन्त्रता दिएकोमा संविधानको उलंघन गर्दे सरकारले पूर्व लडाकु लेनिन बिष्टलाई विदेश जान रोक लगाएको दावी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधानभन्दा माथि कोही पनि हुँदैन । संविधानको उल्लंघन गर्ने सरकारको औचित्य छैन । म यहीँबाट राजीनामा माग्छु । राजा हामीले बनाएको होइन । प्रधानमन्त्री बनाएको हो । संविधानको उल्लंघन गर्न बनाएको होइन ।’

सरकार स्वेच्छाचारी  र निरंकुश बन्दै गैरहेको भन्दै उहाँले सरकारलाई निरंकुशतातर्फ जानबाट संसदले रोक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाँके निवासीले बर्दियामा एउटा मन्त्रीलाई कालो झण्डा देखाउँछ । सरकारले कस्टडीमा लिन्छ । सरकारको मान्छेलाई कस्टडीको अर्थ के हो त्यति पनि थाहा छैन । कस्टडीको अर्थ जिम्मा लिने हो । कैद होइन । जिम्मामा सरकारले लिन्छ । जिम्मा लिएर हत्या गर्छ । हत्या गरेपछि सम्बन्धित पुलिस अफिसरलाई पनि कारबाही हुनुपर्छ । यसको न्यायिक छानबिन समिति गठन गरियोस् ।’

मधेसीलाई कालो झण्डा देखाउने नाममा नियन्त्रणमा लिने र हत्या गर्ने काम सरकारबाट भएको भन्दै उहाँले कानुन अनुसार चल्न सरकारलाई चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘कस्तो संविधानको ? कस्तो सरकारको अभ्यास गर्दैछौ ? बास्तवमा सरकार लोकतान्त्रिक हो कि होइन ?सरकारले संविधान मान्नुपर्छ कि पर्दैन ? सुरक्षा निकायले मान्नुपर्छ कि पर्दैन ?’

उहाँले सरकार र विचौलाबीच मिलेमतो भएका कारण उखु किसानले उखुको मूल्य नपाएको आरोप लगाउनुभयो ।

बुधबारकै बैठकमा बोलेका नेकपाका सांसद महेश बस्नेतले अध्यागमन विभागले एक जना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा उठ्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो । शंकास्पद कागज देखिएर रोकिएका व्यक्तिको विषयलाई तोडमोड गरेर प्रचारप्रसार गर्ने गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया