तालिबानले अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध लगायाे

 कात्तिक १७, २०७८ बुधबार १९:१५:४ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिबान सरकारले प्रतिबन्ध लगाएको छ । 

विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान सरकारले विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएका हाे । 

तालिबान सरकारले जारी गरेको निर्देशनात्मक सूचनामा निर्देशनलाई अटेर गरी कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिइएको छ । 

‘इस्लामिक इमिरेट्स (तालिबान)को आग्रह छ, सबै नागरिक, व्यवसायी, व्यापारी, आम उपभोक्ताले अबदेखि विदेशी मुद्रा प्रयोग नगर्नु होला, यो अनुरोधलाई बेवास्ता गरेमा कारबाही हुनेछ’, निर्देशनात्मक सूचनामा भनिएकाे छ । 

तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिदले तालिबान सरकारले यस विषयलाई अति महत्त्व र गम्भीरतापूर्वक लिएको जानकारी दिए । 

अफगानिस्तानको बजारमा अमेरिकी डलर विदेशी विनिमयको एक सशक्त माध्यम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।   

त्यसैगरी पाकिस्तानजस्ता सिमाना जोडिएका देशका मुद्रा पनि प्रयोग हुने गरेको जनाइएको छ । तालिबान सरकारको पछिल्लो निर्णयले त्यसलाई समेत प्रभावित पार्ने भएको छ ।    

तालिबान सरकारले विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध लगाएपछि विदेशी मुद्रा रहेकाहरूलाई मर्का पर्ने भएको छ । यसले केही समय उपभोक्ताहरूलाई अप्ठ्यारो पनि पार्ने भएको छ । 

तत्कालीन तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेर नयाँ सरकार बनाएपछि उनीहरूलाई धेरै विदेशी सहयोग रोकिएका छन् । अन्तर्राष्ट्रिय समुदायले पनि शङ्काको दृष्टिले हेरेको पाइएको छ । तर तालिबान अधिकारीहरूले भने सहयोगका लागि अपिल गरिरहेका छन् । उनीहरूले आफूहरू अघिल्लो पटक सरकार सञ्चालन गर्दा भन्दा लचक हुने दाबी पनि गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया