'जनयुद्ध' का पहिलाे शहीद दिलबहादुर रम्तेलको स्मृतिमा पार्क निर्माण सुरु

 कात्तिक २३, २०७८ मंगलबार २०:११:३४ | किरण लोहनी
unn.prixa.net

गाेरखा – दश वर्षे सशस्त्र जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा पार्क निर्माण सुरु भएको छ । पार्क निर्माणका लागि ठेकेदार कम्पनी ओम सत्य साई कन्ट्रक्शन चितवनसँग गएकाे भदौ २० गते ठेक्का सम्झौता भएको गाउँपालिकाका इन्जिनियर अभिनव गौतमले बताउनुभयो । आउँदाे फागुन १५ गतेसम्ममा पार्क निर्माण सक्ने गरी तीन करोड ३७ लाख २५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो । 

केही वर्ष पहिले नै पार्क निर्माणको प्रक्रिया अघि बढाइए पनि कार्यान्वयन हुन सकेको थिएन । गाउँपालिका र सङ्घीय सरकारकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागत साझेदारीमा पार्क निर्माण हुने भएको हो ।

मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत पार्क निर्माणका लागि साढे तीन करोड र पालिकाले डेढ करोड रुपैयाँ छुट्याएका थिए । निर्माण 
व्यवसायीले तीन करोड ३७ लाख २५ हजार रुपैयाँ लागतमा पार्क निर्माण गर्नेछन् । वारपाक सुलिकोट गाउँपालिका ८ को जराङमा बन्ने पार्कमा झन्डै ८० जना अट्ने सभा हल सहितका संरचना निर्माण हुने इन्जिनियर गौतमले बताउनुभयो ।

यस्तै करिडोरमा घुम्दै अवलोकन गर्न सकिने गरी सङ्ग्रहालय बनाइने छ । जनयुद्धमा तयार भएका दस्तावेज, तस्बिर लगायतका सामग्री सङ्ग्रहालयमा राखिने उहाँले जानकारी दिनुभयो । पार्क परिसरमा भने रम्तेलको सालिकसहित बगैँचा निर्माण हुने उहाँले जानकारी दिनुभयो ।

पन्द्रुङमा रहेकाे ब्रम्हचारिणी निम्न माध्यमिक विद्यालयमा चार कक्षामा पढ्ने रम्तेलको प्रहरीले चलाएको गोली लागेर २०५२ साल फागुन १४ गते ज्यान भएको थियो । उहाँको सम्मान र सम्झनामा पार्क निर्माण गर्न लागिएको वारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया