गोरखा कारागारको भवन जीर्ण, कैदीबन्दी भन्छन्– ‘आलोपालो गरेर सुत्नुपर्छ’

 कात्तिक २४, २०७८ बुधबार १५:१४:४२ | किरण लोहनी
unn.prixa.net

कारागार निरीक्षणका क्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलासहितकाे टाेली

गोरखा – गोरखा कारागारका कैदीबन्दीहरूले सुत्ने ठाउँ पनि नपाएको गुनासो गरेका छन् । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राख्दा आलोपालो गरेर सुत्नुपर्ने अवस्था रहेको उनीहरूले बताए ।कारागारमा बढीमा ३५ जनासम्म कैदीबन्दी राख्न सकिने भए पनि लामो समयदेखि एक सय भन्दा बढीलाई राखिँदै आएको छ । कारागारको महिला कक्षमा सात कैदीबन्दी छन् । तर पुरुष कक्षमा भने क्षमताभन्दा झन्डै तेब्बर बढी अर्थात् एक सय कैदीबन्दी रहेका कारागारका जेलर गणेशप्रसाद भट्टराईले बताउनुभयो ।

आज बुधवार कारागार निरीक्षणका लागि आउनुभएका गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलालाई  आफ्ना समस्या सुनाउँदै कैदीबन्दीले खानेपानीको चरम अभाव रहेको र शौचालय प्रयोग गर्ने क्रममा पनि घण्टौँ पालो पर्खनुपरेको गुनासो गरेका हुन् । २०४४ सालमा बनेको कारागार भवनका भौतिक संरचना जीर्ण बन्दै गएको छ । 

क्षमता विस्तारका लागि तत्काल ट्रस्ट भवन निर्माण गर्नुपर्ने देखिएको मुख्य न्यायाधिवक्ता बास्तोलाले बताउनुभयो । खानेपानी, शौचालय र बिजुली बत्तिको व्यवस्थापनका लागि चालु आर्थिक वर्ष बजेट विनियोजन भएको जानकारी पाएको भन्दै उहाँले तत्काल निर्माणको काम थाल्न निर्देशन गरिएको बताउनुभयो । जीर्ण बन्दै गएको कारागार भवनमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको लगायतका समस्याका बारेमा माथिल्लो निकायमा जानकारी गराउने उहाँको भनाइ छ । निरीक्षणका क्रममा देखिएको समस्या समेटेर मुख्यमन्त्री र महान्यायाधिवक्तालाई प्रतिवेदन बुझाउने मुख्य न्यायाधिवक्ता बास्तोलाले जानकारी दिनुभयो ।

कारागारका धेरैजसो थुनुवाहरूले अदालतबाट मुद्दाको सुनुवाइमा ढिलाइ हुँदा अनावश्यक रूपमा कैद रहनुपरेको गुनासो गरेका छन् । पेसी छिटो तोकेर मुद्दाको किनारा लगाउनुपर्ने उनीहरूको भनाइ छ । कोभिड–१९ सङ्क्रमणलगायतका कारण मुद्दाको फैसलामा ढिलाइ भएको हुन सक्ने भन्दै मुख्य न्यायाधिवक्ता बास्तोलाले अहिले स्थिति सामान्य हुँदै गएकाले न्याय निरूपणको कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । कारागारमा रिक्त रहेको अहेबको दरबन्दी भने एक हप्ताभित्रै पूर्ति गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने उहाँले जानकारी दिनुभयो । 

यो टोलीले आजै जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको पनि निरीक्षण गरेको छ । कारागार र हिरासत कक्षको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै बास्तोलाले जिल्ला प्रहरीको नयाँ हिरासत कक्ष भने युरोपियन मापदण्डअनुसार बनेको बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया