'थ्रेसर' काे प्रयाेग बढ्याे, हराउँदै दाइँ संस्कृति

 मंसिर ३, २०७८ शुक्रबार १८:६:४५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - नेपाली किसानको मौलिक परम्परा हो, दाइँ संस्कृति । तर प्रविधिको विकाससँगै पछिल्लो समय दाइँ हाल्ने परम्परा गाउँघरबाटै हराउँदै गएको छ ।

विगतमा कार्तिक मंसिरमा फाँटमा गरा खुर्केर । गोबर माटोले पोतेर । मियो गाडेर । कुन्युबाट धानको मुठा निकाली झाँटेर । धेरैभन्दा धेरै गोरु मियोमा घुमाएर । भाका हाल्दै । गोरु धपाउँदै, पराल माड्दै । रासमा रहेको धान नाङ्लोले बत्ताउँदै । परालको भारी हाल्दै आपसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा थियो ।

गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन थियो । दाइँ संस्कृतिले आपसमा मेलमिलाप गराउँथ्यो । बिहानदेखि साँझसम्म खेतमा दाइँमा खटिँदा थकान भएता पनि आपसमा दुःखसुखका कुरा गर्दै, भाका हाल्दै दाइँमा रमाउनुको मज्जा बेग्लै हुने तर अहिले त्यो संस्कृति हराउँदै जान थालेको दोर्दी गाउँपालिका–३ श्रीमन्ज्याङका मायनाथ वाग्ले बताउनुहुन्छ ।

पछिल्लो समय थ्रेसरको प्रयोग बढेसँगै गाउँघरबाटै दाइँ संस्कृति हराउँदै गएको उहाँ बताउनुहुन्छ । ‘अहिले प्राय : गाउँगाउँमा सडकको पहुँच पुगेको छ । ती गाउँठाउँमा अहिले छिटो र सजिलोको लागि थ्रेसरकै प्रयोग बढ्दो छ,’ उहाँले भन्नुभयो ।

तर आफूले भने बर्सेनि गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएको उहाँ बताउनुहुन्छ । उहाँले ढुँडीखेतमा बर्सेनि धान खेती गर्दै आउनुभएको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका लमजुङका अधिकांश किसानहरु पछिल्लो समयमा आधुनिक थ्रेसर मेसिनको प्रयोग गरी दाइँ हाल्दै आएका छन् ।

दाइँ संस्कृति हराएकोमा ‘नमज्जा’ !

थ्रेसर मेसिनको प्रयोगले किसानको समय, श्रम र पैसाको बचत भएता पनि मौलिक संस्कृति हराउँदै जान थालेकोमा लमजुङका ५३ वर्षका माधव भद्र घिमिरेलाई ‘नमज्जा’ लाग्छ ।

‘मियाको टुप्पोमा बसिहाल्यो कोइली, आजका ददौरेँलाई हे भाइ बरादोँ घिउमै घिउको चोइली’ जस्ता मेलापात, ग्रामीण जनजीविकासँग जोडिएका गीत गाउँदै, रमाउँदै फाँटमा दाइँ हाल्ने चलन थियो । त्यसको रमाइलो छुट्टै थियो । ‘तर अहिले त्यो प्रचलन त हराउँदै गएको छ,’उहाँले भन्नुभयो ।  

थ्रेसर मेसिनको प्रयोग बढ्दो 

अहिले युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन सकस हुनु र पाइएका खेतालाको ज्याला खर्च पनि महँगो भएकाले लमजुङका किसानहरुले धान, पराल छुट्याउन थ्रेसर मेसिनकै प्रयोग धेरै गर्न थालेका घिमिरेको बुझाइछ । 

स्थानीय राजु घिमिरेका अनुसार गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याएर धान झाँटेर धान पराल घरमा भित्र्याउन थालेका छन् । पहिलेजस्तो मियोमागोरु घुमाएर दाइँ हाल्ने चलन गाउँघरबाटै बिस्तारै हराउँदै जान थालेको छ ।

गोरु र मान्छेले दाइँ हाल्दा समय बढी लाग्छ । खर्च धेरै नै हुन्छ । तर थ्रेसर मेसिनले दाइँ हाल्दा श्रम, समय र पैसाको बचत हुने भएकाले पनि यहाँका अधिकांश किसान अहिले थ्रेसर मेसिनको प्रयोगमा तानिएका हुन् ।

मौलिक संस्कृति जोगाउनु आवश्यक

विशेषगरी लमजुङको सुन्दरबजार, पाउँदी, भोर्लेटार, भोटेओडार, बेसीसहर लगायतका ठाउँका किसानहरुले पछिल्लो समय थ्रेसर मेसिनबाटै दाइँ हाल्दै आएका छन् ।

श्रम, पैसा र समयको बचत हुने भएका कारण जिल्लाका किसानहरुले पछिल्लो समय आधुनिक कृषि उपकरणको उपयोग गरी खेतीपाती गर्दै आएका छन् । मुख्यतः पैसा र समयको बचत हुने भएकै कारण किसानहरु थ्रेसर मेसिनतर्फ किसानहरु आकर्षित भएका छन् । 

आधुनिकताका नाउँमा ‘मौलिक दाइँ संस्कृति लोप हुन्छ कि !’भन्ने ठूलो चिन्ता छ, पाको पुस्तालाई । आधुनिक प्रविधिको विकासले किसानलाई सजिलो बनाएता पनि मौलिक दाइँ संस्कृतिलाई पनि जोगाउनु उत्तिक्कै आवश्यक रहेको बुढापाकाहरु बताउँछन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया