काेराेनाकाे नयाँ भेरियन्ट : जापानमा विदेशीलाई प्रवेश निषेध गर्ने तयारी

 मंसिर १३, २०७८ सोमबार १३:४९:० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ । सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले आज सोमवार जानकारी दिनुभयो । अफ्रिकी देशहरूमा कोरोना भाइरसको नयाँ संस्करणको रूपमा देखिएको 'ओमिक्रोन' को महामारी आफ्नो देशभित्र प्रवेश नगरोस् भन्ने उद्देश्यले विदेशबाट आउनेहरूलाई जापान प्रवेशमा निषेध गर्न लागिएको हो ।

‘हामीले चाँडै नै विदेशबाट आउनेहरूलाई देश प्रवेशमा रोक लगाउनेछौँ, त्यो कुनै देश विशेषका लागि मात्रै नभएर विश्वभरिका कुनै पनि देशबाट आउनेहरूलाई रोक लगाउन लागिएको हो’, प्रधानमन्त्री किशिदाले भन्नुभयो । उहाँले नोभेम्बर ३० तारिखदेखि प्रतिबन्धात्मक यो व्यवस्था लागू हुने पनि जानकारी दिनुभयो । जापानमा यसअघि पनि महामारीलाई न्यूनीकरण गर्न भन्दै धेरैजसाे नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेहरूलाई परीक्षणमा कडाइ गरिएको थियो ।

तर गएकाे नोभेम्बरको सुरुदेखि विदेशबाट आउनेहरूलाई प्रवेशमा खुकुलो बनाइएको थियो । नयाँ खुकुलो व्यवस्थाका आधारमा व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिसा भएकाहरूलाई प्रवेश गर्न दिइएको थियो । टोकियोले गएकाे शुक्रवार नै अफ्रिकी ६ देशबाट जापान आउनेहरूलाई कम्तीमा १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने व्यवस्था गरेको थियो । 

यस्तो नियम अन्य देशबाट आउनेहरूलाई पनि बढाउँदै लगिने प्रधानमन्त्री किशिदाले जानकारी दिनुभयो । ‘’कोरोना भाइरसको महामारीविरुद्ध जापान सधैँ कठोर रूपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै कडा रूपमा उभिने छ, प्रधानमन्त्री किशिदाले भन्नुभयो । उहाँले नयाँ भाइरसबाट जोगिन मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने र प्रतिबन्धात्मक व्यवस्थाहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

जापानमा कोरोनाका कारण अहिलेसम्म १८ हजार तीन सयभन्दा बढीको ज्यान गएकाे छ भने ७६ दशमलव ५ प्रतिशतलाई कोरोना भाइरसविरुद्धको खोप दिइसकिएको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया